भक्तपुर । भक्तपुरमा रगतको अभाव नरहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जनाएको छ । रेडक्रस शाखाले सञ्चालन गरेको रक्त(सञ्चार केन्द्रमा रगतको अभाव भएको छैन ।
काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोकसम्मका बिरामीलाई समेत आवश्यक रगत वितरण गर्दै आएको सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । रक्तदानका कार्यक्रम कमी हुँदा र रक्तदातासमेत घटेको अवस्थामा बिरामीले सहज रगत नपाउने गरी केही दिन समस्या देखिए पनि अहिले रगत अभाव नरहेको जानकारी थापाले जानकारी दिए ।
शाखाले रक्तदान गर्न आह्वान गर्दै टोलटोलमा रक्तदान कार्यक्रम गर्न थालेपछि रगत सङ्कलन पर्याप्त भएकाले रगतको अभाव नभएको उनको भनाइ छ । ‘हिजो ३५० पिन्ट रगत संकलन भएको छ’ उनले भने, ‘रगत चाहिए भक्तपुर आउनुस् ।’
काठमाडौंको बाफलमा पनि रक्तदान
काठमाडौंको बाफलमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ र सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा भएको रक्तदानमा ३० भन्दा बढी व्यक्तिले रगत दान गरेका क्लबका अध्यक्ष दिपक वंशलले जानकारी दिए । कोरोनाका कारण काठमाडौं उपत्यकासहित देशभर रगत अभाव छ ।
नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आह्वान गर्दै आएको छ । एक महिना पहिले लायन्स क्लब अफ काठमाडौं ललितपुरको सानेपामा अक्सिजन बैंक स्थापना गरेको थियो । दुई सय सिलिण्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको क्लबले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस