aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अर्को पाशबिक घटनाः बन्धक बनाएर सामूहिक बलात्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
अर्को पाशबिक घटनाः बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए।

अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’

राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन्। उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे। तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे।’

जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन्। उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस