aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुन खरिद गर्ने बहानामा १३ लाख ५० हजार चोरी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
सुन खरिद गर्ने बहानामा १३ लाख ५० हजार चोरी गर्ने पक्राउ

काठमाडौं । सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ जबरजस्ती चोरी गरेको अभियोगमा ५ जनालाई शुक्रबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका ७ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३२ वर्षीय बिष्णु थापा, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ माकालबारी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका २७ वर्षीय मेघ बहादुर तामाङ,  भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिबन नगरपालिका ५ घर भएका २२ वर्षीय बिशाल लामा रहेका छन् । 

बिहीबार बेलुका काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका ४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्‍ठ नगरपालिका ११ आनीगुम्बा कपनस्थित सडकमा बोलाई अपरिचित ४ जनाले उक्त रकम जबरजस्ती चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा.२४ प २८६७ र प्रदेश नम्बर ३-०२-०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस