aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डेढ वर्ष नगरे भो मेलम्चीको आश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
डेढ वर्ष नगरे भो मेलम्चीको आश

काठमाडौं । आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको आजको नयाँपत्रिका दैनिकमा खबर छ । 

समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम सुरु गर्ने तयारी छ ।’

काम सुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ । त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।

विभिन्न १० प्याकेजमा विभाजन गरेर बाँकी काम सक्ने योजनाअनुरूप बाँकी आठ प्याकेजको काम स्थानीय ठेकेदारलाई दिने तयारी गरिएको छ । ती आठ प्याकेज दुई ठूला प्याकेजमा आवश्यक सामग्री आपूर्तिसँग सम्बन्धित रहेको कँडेलले जानकारी दिए ।

सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने काम गरिरहेका, पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस