
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिए । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् । काठमाडौँ उपत्यकामा ३२६ सहित देशभरमा ७९९ नयाँ सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमध्ये ६४१ पुरुष र ३३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी नौ हजार २१८ नमूना परीक्षण भयो । हालसम्म सात लाख ७७ हजार ५६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेइन्टिनमा रहने चार हजार ७३९ छन् । देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार १९० होम आइसोलेसनमा छन् ।
प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार ७३१, प्रदेश २ मा ४८२, बाग्मतीमा चार हजार ८४०, गण्डकीमा ८३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा ३३६ र सुदूरपश्चिममा ७४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा ७९०, प्रदेश २ मा तीन हजार, बाग्मतीमा दुई हजार ३३४, गण्डकीमा एक सय, प्रदेश ५ मा ८०७, कणार्लीमा ४० र सुदूरपश्चिममा ११९ छन् ।
देशभर १७१ सङ्क्रमित आइसियुमा छन् । प्रदेश १ मा छ, प्रदेश २ मा २४, बाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कणार्लीमा तीन र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । बाग्मतीमा १८ र प्रदेश ५ मा दुई सङ्क्रमित भेण्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा २९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक सङ्क्रमित पुष्टि भएको छ ।
त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलबस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रुपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक सङ्क्रमित फेला परेका छन् । देशका ११ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ । पाँच सय बढी रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् ।
सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् । काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका शहरमा सङ्क्रमण बढीरहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । दोस्रो चरणमा गरेको बन्दाबन्दी सकिनै लागेपनि सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रकोपको अवस्था र स्थानको आँकलन गरेर थप प्रभावकारी काम गर्नै विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजीकरण हुँदै जानेछ ।”
११ को मृत्यु
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना सङ्क्रमित भएका छन् ।
प्रदेश नं १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट दुई हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण सम्पन्न भएको छ ।
प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएकामध्ये दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको छ ।
प्रदेशमा अहिले चार प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेशमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयले जनाएको छ ।
जनकपुर– प्रदेश नं २मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अब १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या १०६ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सिरहाबाट ५६, धनुषाबाट ४२, महोत्तरीबाट ६, सर्लाहीबाट २० र पर्साबाट एक जना गरी १२५ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार २६१ पुगेको छ । तीमध्ये ९२ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ८३६ जना निको भएर घर फर्केका छन् ।
प्रदेशअन्तर्गतका १७४ क्वारेन्टिनमा आजसम्म ५४९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७२६, आइसोलेसनमा ८५२ र होम आइसोलेशनमा चार हजार ४६७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको तथा होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।
पोखरा–पोखरा औद्योगिक क्षेत्रको एक उद्योगका कार्यरत ५८ मजदूरमा कोरोना सङ्क्रमण देखिएको छ । पोखरा फुड्स प्रालिमा कार्यरत मजदूर कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार उपाध्यायले जानकारी दिए ।
यसअघि उक्त उद्योगमा कार्यरत ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सोमबार बिहान भएको परीक्षणबाट थप २५ जनामा सङ्क्रमण देखिएको हो । उपाध्यायका अनुसार औद्योगिक क्षेत्रमा ७६ उद्योग सञ्चालनमा छन् । हाल पोखरा फुड्समा कार्यरत मजदूरमा मात्र सङ्क्रमण देखिएको हो । उक्त उद्योग हाल बन्द गरिएको छ । यससँगै रम्बा जनरल प्रालि र पोखरा नुडल्स पनि अहिले बन्द छन् । यी सबैका सञ्चालक पूर्वमन्त्री हरिप्रसाद पाण्डे हुन् ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान मात्र पोखरामा ३१ सहित प्रदेशभर ६७ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको पोखरामा ३१, नवलपुरमा १५, गोरखामा १८ र तनहुँमा तीन जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ५९८ पुगेका छन् । नयाँ देखिएका ६७ सङ्क्रमित सबै कन्टयाक ट्रेसिङका आधारमा सङ्क्रमित भएका हुन् ।
कर्णाली– आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिनुभयो ।
“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, रासससँग कुरा गर्दै डा शर्माले भने, “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनुभएको छ ।”
योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उनको जोड छ । उनले अगाडि भने, “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी हुनुभएको छ । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”
उनका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ । आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताए ।
सुदूरपश्चिम–कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिका, स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले शिक्षालयका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । शिक्षालयका १२९ जनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा आज गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुईदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस