
संसदमा बजेट भाषण गरेको भोलिपल्ट अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘पोहोर जग खन्ने काम भयो, अब घर बनाउनु सुरु गरेँ ।’ तर अर्थमन्त्रीले बनाउन लागेको घरको जग नै बलियो नभएको उनैले सार्वजनिक गरेको बजेटले नै पुष्टि गरेको छ ।
बजेट तर्जुमाको आधारहरु प्रस्तुत गर्दै उनले भनेका थिए, ‘पन्ध्रौं योजना र दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।’ तर, उनले न पन्ध्रौं योजनाको भावनालाई समेट्न सके नत दिगो विकास लक्ष्यलाई नै सम्बोधन गर्ने बजेट पेश गरे ।
अर्थमन्त्रीले भनेको पन्ध्रौं योजनाले एउटा दीर्घकालिन सोच, लक्ष्य र रणनीति तय गरेको छ । त्यसले निद्धृष्ट गरेको दीर्घकालिन लक्ष्य भेट्टाउन सोही अनुरुपको बजेट बन्नु आवश्यक हुन्थ्यो । तर बजेटमा त्यस्तो देखिएन ।
पन्ध्रौं पञ्चवर्षिय योजनामा वि।स। २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार पाँच सय अमेरिकी डलर पुर्याउने सोचसहितको दीर्घकालिन योजना समेत प्रस्तुत गरिएको छ । हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार सय अमेरिकी डलर छ भने कुल ग्राहस्थ उत्पादन ३० खर्ब सात अर्बको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुने अनुमान गरेका अर्थमन्त्रीले आगामी वर्ष ८ प्रतिशतको लक्ष्य राखेका छन् । तर यदि अबको २५ वर्षमा प्रतिव्यक्ति आय साढे १२ हजार डलर पुर्याउने हो भने आर्थिक बृद्धिदर लगातार २५ वर्षसम्म १०।५७ प्रतिशतको हुनुपर्छ ।
त्यसो त गत चैत्रमा पन्ध्रौं पञ्चवर्षिय योजनाको आधारपत्र सार्वजनिक गर्दै योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले भनेका थिए, ‘यसलाई कार्यान्वयन गर्न कार्यक्रम, परियोजना र बजेटसँग तालमेल गरिनेछ ।’ अर्थमन्त्रीले सायद तालमेलको आवश्यकता महशुस गरेनन् । त्यसैले २५ वर्षे दीर्घकालिन लक्ष्य भेट्ने खालको कुल ग्राहस्थ उत्पादनको लक्ष्य राखेनन् ।
यहाँनेर भन्न खोजिएको यो हो की, अर्थमन्त्रीले घोषणा गरे अनुसारको घर बन्नेगरी जग खन्ने सपना समेत देख्न सकेनन् । जबकी उनी बलियो घर बनाउने आधारबिहीन घोषणा गरिरहेका छन् । प्रश्न के हो भने, जबसम्म मुलुकमा दोहोरो अंकको आर्थिक बृद्धि हासिल हुँदैन, तबसम्म न पञ्चवर्षिय योजना पुरा हुन सक्छ नत २५ वर्षे सपना नै साकार पार्न सकिन्छ ।
दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न अर्थशास्त्रका विज्ञ भनेर चिनिएका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक पर्ने उपकरणहरु प्रयोग गर्न सकेनन् । उनलाई राम्ररी थाहा छ की सांसदलाई बाडिएको रकम अन्ततः दुरुपयोग हुने नै हो । नेपालको आवश्यकता अहिले वितरणमुखी बजेट होईन, र कनिका छराईले दिगो विकासको आधार निर्माण हुँदैन् । तर उनी संसदमा निरिह देखिए । र, सांसदहरुलाई पैसा बाड्न बाध्य भए । बिडम्बना के सम्म देखिदैछ भने विकास बजेटको रकमान्तरण गरेर सांसदलाई ल्यापटप बाड्ने प्रकृया अघि बढिसकेको छ ।
अर्थमन्त्रीले आर्थिक बृद्धि लक्ष्य ८ प्रतिशत मात्र राख्दा निराश बन्नुपर्ने अर्को पनि कारण के हो भने उनी आर्थिक बृद्धिको लक्ष्य अधिकतम राख्नुपर्छ भन्ने मान्यताका पक्षधर हुन् । त्यसो गर्दा आन्तरिक ऋणको आकारसमेत बढाउन सकिने र केही खुकुलो बजेट निर्माण गर्न सकिने हुनाले उनी यो मान्यता मन पराउँछन् । त्यसो त नेकपाकै अन्य अर्थशास्त्रीहरु आर्थिक बृद्धि जुन अंकको हुन सम्भव छ त्यत्तिको मात्र लक्ष्य राखेर यर्थाथ परक ढंगको अंक सार्वजनिक गर्नुपर्छ भन्ने पक्षमा छन् । यसो गर्दा जनविश्वास नटुट्ने र बजेटको लक्ष्य पुरा हुने उनीहरु विश्वास गर्छन् ।
यो विषयको समेत यहाँ चर्चा यसकारण आवश्यक छ कि आर्थिक बृद्धिदर अधिकतम राख्नुपर्छ भन्ने अर्थमन्त्रीले जम्मा ८ प्रतिशतको मात्र लक्ष्य पेश गरे । अनि त्यसको आधारका रुपमा पञ्चवर्षिय योजनाले निदृष्टि गरेको २५ वर्षे दिर्घकालिन सोच हो भनेर घोषणा गरे ।
अन्त्यमा एउटा प्रश्न फेरि पनि अर्थमन्त्रीलाई सोध्नैपर्ने हुन्छ, अर्थमन्त्री ज्यू लक्ष्य नि नराखी कसरी सपना साकार हुन्छ ? अनि बजेटमा यस्ता विरोधाभाष कुरा किन ?
प्रतिक्रिया दिनुहोस