aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

  • बीबीसी
    बीबीसी
  • मंगलबार, २३ भदौ २०७७
विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी

एजेन्सी । चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ ।

तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन । जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ ।

सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ ।

चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भने, "भारतीय सैनिकहरूले भारत-चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन् ।"

वक्तव्यका अनुसार भारतीय सेनाको उक्त कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको छ । यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भनेका छन्। चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उनले बताए ।

सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन । दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन् ।

दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती राज्यबाट पाँचजना भारतीय नागरिकलाई कब्जामा लिएको विवरणपनि आएका छन् ।

तीन दिनअघि अरुणाञ्चल प्रदेशका एक सांसदले ट्वीट गर्दै पहिलोपटक त्यस्तो आरोप लगाएका थिए । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई "हटलाइन सन्देश" पठाइएको बताए ।

भारत र चीनका विदेशमन्त्रीको भेटघाट हुने निर्धारण भएको समयमा पछिल्लो विवाद चर्किएको छ । भारतका विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने यात्राका निम्ति रुसको राजधानी मस्को जाँदै छन् ।

त्यहाँ हुने शाङ्घाइ सहयोग सङ्गठनको विदेशमन्त्री स्तरीय भेलामा उनी सहभागी हुनेछन् । आठ सदस्यीय उक्त सङ्गठनमा भारत र चीन दुवै सदस्य छन् ।

सो भेलाको बेला भारतीय विदेशमन्त्रीले चिनियाँ समकक्षी वाङ् यीसँग द्वीपक्षीय कुराकानी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस