aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
कर्मचारी अवकास

यस वर्ष कति राष्ट्रसेवक कर्मचारीले पाउँदैछन् अवकास, मुख्य सचिवको दावेदार को ? (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
यस वर्ष कति राष्ट्रसेवक कर्मचारीले पाउँदैछन् अवकास, मुख्य सचिवको दावेदार को ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षमा २ हजार ४ सय ८० राष्ट्र सेवक कर्मचारीले अवकास पाउँदैछन् । मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन् । राष्ट्रिय किताबखानाले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्षमा मुख्य सचिव रेग्मीसहित अन्य कर्मचारीहरूको विभिन्न मितिमा सरकारी सेवाबाट विदा हुने समय आएको हो । आर्थिक वर्ष २०७७/७८ मा मुख्य सचिव रेग्मी र १९ सचिवसहित दुई हजार चार सय ८० कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन् । 

परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा असोज २२ गते एकै दिन अनिवार्य अवकाश हुनेछन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका छन् । नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ । राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा कात्तिक २० मा बिदा हुनेछन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अर्का सचिव प्रकाश माथेमाको मंसिर १ मा अवकाश हुँदैछ । अवकाश पाउने अन्यमा पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा (मंसिर १५), लोकसेवा आयोगका सचिव आनन्दराज ढकाल (पुस २९), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे (माघ ८) ले पनि अवकास पाउने भएका छन् । 

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल (चैत २), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.तीर्थराज ढकाल (चैत २७), वन तथा वातावरण सचिव डा. विश्वनाथ ओली (२०७८ वैशाख ७), सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी (वैशाख २४), शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव डा.सञ्जय शर्मा (२०७८ जेठ ६), खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे (जेठ १४) ले अवकास पाउँदैछन् । 

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे (असार १७), महालेखा निरीक्षक गोपीनाथ मैनाली (असार १) र हालै सचिवमा बढुवा भएका बागमती प्रदेशका प्रमुख सचिव डा.मानबहादुर बिके (वैशाख ६) छन् ।

यिनै १९ जनामध्ये एकजना मुख्य सचिव हुनेछन् भने बाँकी १८ जनाको अवकाश हुनेछ । परराष्ट्र सचिव वैरागी, पर्यटन सचिव अधिकारी, सार्वजनिक अनुगमनका सचिव सापकोटा र उद्योग सचिव घिमिरे प्रमुख दाबेदार देखिएका छन् । अन्य केही सचिवले पनि मुख्य सचिवका लागि लविङ गरिरहेका छन् । 

को को हुन् अवकास पाउने सहसचिव ?

त्यस्तै अनिवार्य अवकाश पाउने सहसचिवमा वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्ले छन् । शंकरप्रसाद सुवेदी, कैलाशराज पोखरेलले पनि चालू आर्थिक वर्षमा अवकाश पाउँदैछन्  ।

किताबखानाका अनुसार अनिवार्य अवकाश पाउने अन्य सहसचिवमा रामकृष्ण गुरागाईं, श्यामराज अधिकारी, सुरेन्द्रप्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, बलराम मिश्र, सरोजकुमार प्रधान, भगवानप्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, भेषनाथ शर्मा, वंशी शर्मा, सनतकुमार दवाडी, विष्णुप्रसाद अधिकारीलगायतका सचिव रहेका छन् । किताबखानाले प्रत्येक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ ।

उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस