aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी नेतृत्वद्वारा राजीनामा, के हो कारण ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
न्यूयोर्कको रोचेस्टर सहरको प्रहरी नेतृत्वद्वारा राजीनामा, के हो कारण ?

अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन्। एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन्।

गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा मृत्यु भएको खुलासा गत साता भएपछि रोचेस्टर सहरका प्रहरीले उक्त घटना लुकाउन खोजेको भन्दै चर्को आलोचना भएको थियो। त्यही आलोचनाका माझ राजीनामा दिएका वरिष्ठ प्रहरी अधिकारीहरूविरुद्ध अभियोग लाग्नुपर्छ कि पर्दैन भन्ने कुरा अब एउटा बृहत् जुरीले निश्चित गर्नेछ। प्रुडको पक्राउमा संलग्न सातजना प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ।

जातिवादविरोधी प्रदर्शन
४१ वर्षीय प्रुडलाई प्रहरीले पक्राउ गर्दा उनी चरम मानसिक स्वास्थ्य समस्यामा रहेको बताइएको छ। लुगा नलगाइ बाटोमा दौडिरहेको अवस्थामा प्रुडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र टाउकोदेखि घाँटीसम्म छोप्ने ुस्पीट हूडु लगाइदिएको थियो। उक्त घटनाको भिडिओ दृष्य हालसालै मात्रै देखा परेपछि प्रदर्शनहरू चर्को रूपमा हुन थालेका छन्।

अमेरिकाकै अर्को राज्य मिनेसोटामा प्रहरी हिरासतमै रहेका बेला जोर्ज फ्लोइडको मृत्यु भएको घटनाले देशभर जातिवादविरोधी प्रदर्शनहरू चर्काएको तीन महिनापछि फेरि प्रहरीको व्यवहारलाई लिएर प्रदर्शनहरू भइरहेका छन्।

‘चुप लागेर बस्दिन’ 

रोचेस्टरका प्रहरी प्रमखु ल'रोन सिङ्गलटरीले मङ्गलवार जारी गरेको एउटा विज्ञप्तिमा भनेका छन्, "निष्ठा भएको मानिस हुँ त्यसैले अरूले मेरो बदनाम गराउन खोजिरहँदा म चुप लागेर बस्ने छैन।"

उनले आफ्नो कार्यालयले प्रुडको हत्यालाई लुकाउन खोजेको भन्ने आरोप पनि अस्वीकार गरे।  यसअघि सहायक प्रहरी प्रमुख जोसेफ मोराबिटोले पनि आफूले प्रहरी सेवामा रहेर ३४ वर्ष काम गरेको उल्लेख गर्दै राजीनामा दिने बताएका थिए।

उक्त सहरकी मेयर वारेनले अन्य वरिष्ठ अधिकारीहरूले पनि राजीनामा दिनसक्ने एपी समाचार संस्थालाई बताएकी छन्। संस्थागत जातिवादले गर्दा नै प्रुडको ज्यान गएको उक्त सहरकी प्रमुखले यसअघिनै बताइसकेकी छन्। तर आफूले प्रहरी प्रमुख सिङ्गलटरीको राजीनामा नमागेको उनले बताइन्। यसअघि मेयर वारेनले सिङ्गलटरी सेप्टेम्बरको अन्त्यसम्म प्रहरी कार्यालयमा प्रमुखकै रूपमा रहने बताएकी थिइन्। बीबीसी 

प्रतिक्रिया दिनुहोस