
काठमाडौं । नेपालका लागि पछिल्लो एक दशक राम्रो भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ । नेपालमा गएको एक दशकमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकको एक अध्ययनले देखाएको हो । नेपालबाट वर्षेपिच्छे ४ लाख युवा जनशक्ति रोजगारीका लागि विदेशी श्रम बजारमा गएपनि नेपाल हरेक वर्ष औसतमा ४ लाखका दरले नयाँ रोजगारी सिर्जना गर्दै आएको वल्र्ड बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।
नेपालको परम्परागत कृषिमा आधारित अर्थ प्रणाली क्रमशः आधुनिक उद्योग र सेवा क्षेत्रमा रुपान्तरण हुँदै गएको उल्लेख गर्दै गुणस्तरीय कामका अवसरहरु खुलेको हो । पछिल्लो एक दशकमा ठूलो संख्यामा पुरुषले निर्माण, उत्पादन, व्यापार तथा यातायात क्षेत्रमा काम पाएका छन् ।
यस्तो रोजगारीका अवसरहरू अनौपचारिक तथा छोटो अवधिका भएपनि रोजगार भने भएका छन् । यस्ता रोजगारीले विगतको खेतीपातीको भन्दा राम्रो आय भएकोले ती रोजगारको जीवनस्तरमा सुधार गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘नेपालमा रोजगारी सिर्जनाको अवस्थाका विषयमा वल्र्ड बैंकले गरेको एक अध्ययनले बितेका एक दशकमा औसत रोजगारीको गुणस्तरमा अर्थपूर्ण सुधार भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
नेपालमा सिर्जना भएको रोजगारीलाई अझ गुणस्तरीय, सुविधा सम्पन्न, दीगो बनाउन आवश्यक रहेको रिपोर्टले औल्याएको छ । यद्यपि रोजगारीका अवसरहरू सिर्जना भएपनि सबै बेरोजगारलाई रोजगारीको अवसर भने दिन सकेको अवस्था छैन । महिलाहरू त अभैm रोजगारीबाट बञ्चित रहेको अवस्था छ ।
कुल रोजगारी मध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ सम्ममा आइपुग्दा २४ प्रतिशत पुगेको पुगेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनकी मुख्य लेखिका अर्थशास्त्री डा.एलिजाबेथ रुपर्ट बुल्मरले संसारका अन्य देशमा जस्तै नेपालमा पनि तलबी रोजगारीका अवसरमा भएको वृद्धिले अर्थतन्त्रको विस्तारमा आधारभूत परिवर्तन ल्याएको प्रष्ट पारेकी छिन् ।
उत्पादन गतिविधिमा आएको विविधीकरणसँगै रोजगारीमा थप विशिष्ट र बढी उत्पादनमूलक भएको उनले प्रतिवेदनमा उल्लेख गरेकी छिन् । विश्व बैंकले सन् २००८ देखि २०१८ सम्म नेपालको रोजगारीका अवस्थाका बारेका अध्ययन गरेको थियो ।
नेपालमा विशेष त रोजगारी सिर्जना हुन नसक्नुको प्रमुख कारण जटिल भौगोलिक अवस्था रहेको छ । सो कारण रोजगारीको पहुँचसम्म पुर्याउँदा उत्पादनको लागत बढेको छ ।
अधिकांश रोजगारी अनौपचारिक तथा न्यून उत्पादनमूलक क्षेत्रमा केन्द्रीकृत प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्यात गरेर अन्तर्राष्ट्रिय बजारसम्म जोडिनेभन्दा स्थानीय बजारमा मात्र आधारित रहेका एक वा दुई जनासम्मलाई रोजगारी दिने साना व्यवसाय बढी रहेको प्रतिवेदनले औल्याएको छ ।
कर प्रशासनको झमेला, प्रशासनिक असहयोग, अधिक कर, सीपयुक्त जनशक्तिको अभाव आदिका कारण यी साना व्यवसाय थप विस्तार हुन नसकेको विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस