aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकी राष्ट्रपति चुनाव ह्याकरको निशानामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
अमेरिकी राष्ट्रपति चुनाव ह्याकरको निशानामा

रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुले सन् २०२० को अमेरिकी निर्वाचनसँगसम्बध व्यक्ति र समूहलाई निशाना बनाइरहेको माइक्रोसफ्टले बताएको छ । सन् २०१६ को डेमोक्रेटिक पार्टीको अभियानलाई प्रभावित पारेका रुसी ह्याकरहरु पुनः सक्रिय बनेको कम्पनीले बताएको हो ।

माइक्रोसफ्टका अनुसार निर्वाचनलाई लक्षित गरेर विदेशी समूहहरुले आफ्ना गतिविधिहरु बढाएको स्पष्ट छ । ह्याकरहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनलाई नै निशाना बनाइरहेका छन् । कम्पनीले जारी गरको विज्ञप्तिमा स्ट्रोन्टियम समूहका रुसी ह्याकरहरुले अमेरिकी राजनीतिक पार्टी रिपब्लिकन्स र डेमोक्र्याटसँग सम्बध २ सय बढी संस्थाहरुलाई निशाना बनाएका छन् ।

तिनै ह्याकरहरुले बेलायतका राजनीतिक दलहरुलाई पनि निशाना बनाएको माइक्रोसफ्टको भनाइ छ । स्ट्रोन्टियमलाई फ्यान्सी बियर पनि भनिन्छ । यो समूह रुसको सैन्य गुप्तचर जीआरयूसँग आबद्ध रहेको बताइन्छ ।

हालसम्म गरिएका अधिकांश साइबर हमला सफल नभएको माइक्रोसफ्टको भनाइ छ । त्यस्तै, भोटिङ सिस्टम हेर्ने समूह पनि ह्याकरको निशानामा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, माइक्रोसफ्टका अनुसार चिनियाँ ह्याकर समूहले बाइडेननिकट व्यक्तिहरुको इमेलमा र ट्रम्प प्रशासन जोडिएका एक पूर्व व्यक्तित्वको पनि इमेलमा पनि साइबर हमला गरेको छ । जिरकोनियम नामक चिनियाँ ह्याकर समूह सक्रिय रहेको कम्पनीले जनाएको छ ।

उता, गत मे र जुन महिनामा इरानको फोस्फोरस नामक ह्याकरहरुहरुको समूहले ह्वाइट हाउसका अधिकारी र ट्रम्पको अभियानमा संलग्न स्टाफहरुको अकाउन्टमा हमला गर्ने असफल प्रयास गरेका थिए ।

यसअघि, गुगलले पनि चीन र इरानका ह्याकरहरुले यस्तै साइबर हमलाको प्रयास भएको जनाएको थियो । सन् २०१६ को अमेरिकी निर्वाचनमा हिलारी क्लिन्टनको राष्ट्रपति बन्ने अभियानलाई राज्यद्वारा प्रायोजित  साइबर हमला र सामाजिक सञ्जालमा गलत समाचारको मद्दतले प्रभावित गरिएको अमेरिकी गुप्तचर एजेन्सीहरुको निश्कर्ष छ । बीबीसी

प्रतिक्रिया दिनुहोस