एजेन्सी । गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थितिबाट "छिटो पछाडि हट्ने" सहमति गरेका छन् ।
दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको थियो ।
बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा बेलाबेलामा द्वन्द्व हुने गरेको छ ।
दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र कुनै कुनै भिडन्तका घटनाहरू घातक समेत भएका थिए ।
एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन् ।
"त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले सम्वाद कायम राख्न, छिट्टै द्वन्द्वबाट पछाडि हट्न, आवश्यक दूरी कायम राख्न र तनाव कम गर्न सहमत भएका छन्," भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा शान्ति र अमनचयन कायम राख्ने र बढाउने नयाँ व्यवस्थाहरू पनि अगाडि बढाउने बताइएकाे छ। यद्यपि यो व्यवस्था कस्तो खालको हुनेछ भन्ने स्पष्ट पारिएको छैन।
दुई देशबीच एउटा पुरानो सहमति पनि छ जसले सीमामा गोलीबारूदको प्रयोग निषेध गर्छ ।
तर हालैका दिनमा भारत र चीन सम्बन्धमा तनाव देखिएको छ। चीनले मङ्गलवार भारतीय सैनिक सीमा नाघेको र गस्तीमा रहेका चिनियाँ सैनिकलाई चेतावनी दिन गोली प्रहार गरेको आरोप लगाएको थियो ।
भारतले सो आरोपको खण्डन गर्दै चिनियाँ सैनिकले हवाई फायर गरेको र चीनले सहमति तोडेको आरोप लगाएको थियो ।
सोमवार भारतीय सेनाले चिनियाँ अधिकारीलाई विवादित क्षेत्र नजिकैको वस्तीबाट आफ्ना पाँचजना नागरिकको चिनियाँ सेनाले अपहरण गरेको समाचारका बारेमा जानकारी दिएको थियो ।
गत जुन २० मा २० जना भारतीय सैनिक चिनियाँ सैनिकसँगको हिंसक भिडन्तमा मारिएका थिए। स्थानीय सञ्चारमाध्यमहरूले ती सैनिकहरूलाई पिटेर मारिएको बताएका थिए ।
भारत र चीन बीचको 'लाइन अफ एक्चुअल कन्ट्रोल' भनिने विवादित सीमा ३,४४० किलोमिटर लामो छ र त्यहाँ रहेको नदी, ताल र हिमक्षेत्रका कारण त्यो सीमा यताउता हुनसक्छ ।
संसारको सबैभन्दा ठूलो सैन्य शक्ति भएका दुई देशका सैनिकहरु धेरै स्थानमा एक अर्काको सामुन्ने पर्ने गर्दछन् । भारतले चीनलाई लद्दाखको गलवान उपत्यकाामा हजारौँ सैनिक परिचालन गरेको र आफ्नो ३८,००० वर्ग किलोमिटर भूमि ओगटेको बताउने गरेको छ ।
भारत र चीनले विगत तीन दशकमा थुप्रै पटक सीमाको तनाव कम गर्न छलफल गरेको भए पनि त्यसले उल्लेख्य नतिजा दिन सकेको छैन ।
दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो जसमा भारतले लज्जाजनक पराजय भोगेको थियो ।
प्रतिक्रिया दिनुहोस