aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैनः ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैनः ट्रम्प

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त एप्समाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी दिएका हुन् ।  

उनले ती एप्सहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको बिहीबार जानकारी दिएका हुन् । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन, राष्ट्रपति ट्रम्पले भने । 

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेसनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय बनेको छ । अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अमेरिकाले ती एप्लिकेसनमा प्रतिबन्ध लगाउने भनी तोकेको तारिख पछि नसारिने जानकारी दिएका हुन् । 

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ ।  यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् । 

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छ । यसअघि चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस