aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नगरपालिकाले घर बनाइदिने

  • रासस
    रासस
  • शुक्रबार, २६ भदौ २०७७
नगरपालिकाले घर बनाइदिने

स्याङ्जा । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ ।

नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घरपरिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् । 

स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर निर्माण कार्यको शुरु गरिएको नगरपालिकाले जनाएको छ । घर निर्माण कार्यको शुभारम्भ गर्दै नगर प्रमुख भूपराज अधिकारीले भने, “घर भत्किएर विस्थापित भएका र आर्थिक अवस्था कमजोर भएका परिवारको घर निर्माणमा नगरपालिकाले सहयोग गर्छ ।” 

साउन ११ गतेको अविरल वर्षाका कारण घर भत्किएर उनीहरु छिमेकीको घरमा बस्दै आएका थिए । घर निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लब र स्थानीय बासिन्दाले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम शुरु गरिएको वडाध्यक्ष ध्रुव्रप्रसाद शर्मा पङ्गेनीले जानकारी दिए । 

जनश्रमदानबाट सडक ढलान गर्दै 
वालिङ नगरपालिका—१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा श्रमदान जुटाएर सडक निर्माण कार्यमा जुटेका छन् । गाउँघरमा हिड्डुल गर्न समेत समस्या भएपछि स्थानीय बासिन्दा श्रमदान जुटाएर ढलानसहितको सडक निर्माण कार्यमा जुटेका हुन् । वडा कार्यालयले सडक निर्माणको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने भएपछि करिब ६० घर रहेका बोधीभञ्ज्याङका स्थानीय बासिन्दा यतिबेला श्रमदानमा लागिरहेका छन् ।

घरगाउँमा हिड्नै समस्या भएपछि बाटो निर्माणमा जुटेको निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताए । स्थानीय जगबहादुर थापाले भने, “सबैको घरमा अटो रेक्सासम्म भएपनि ल्याउन मिल्ने गरी पक्की सडक निर्माण गर्न लागेका छौँ ।” सडक निर्माण भएसँगै आँधीखोला बहुप्राविधिक शिक्षालय र लक्ष्मी माविमा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरुले समेत सहजरुपमा यात्रा गर्न पाउने वडाध्यक्ष आनन्द पाठक बताउछन् ।
 

प्रतिक्रिया दिनुहोस