aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन उपमेयर खड्गीको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन उपमेयर खड्गीको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् । 

यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो । उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताएकी छन् ।यस्ता व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने उनको भनाइ छ ।

पत्रमा भनिएको छ, 'यस प्रकारको व्यापारमा सहभागी हुनेहरुले स्वास्थ्य सुरक्षाका उपायहरुको अबलम्बन गर्न सक्ने न्युन सम्भावना र सो को प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने तथा त्यस्ता व्यापारीहरुमा सङ्क्रमण देखिएमा प्रभावकारी ढङ्गले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने एवं फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीति रहेको अवस्था समेतलाई मध्यनजर गरी उक्त बुँदामा रहेको फुटपाथ पसल तथा ठेला व्यापार' भन्ने बाक्यांश हटाइ वा त्यस्तो व्यापारमा पूर्ण प्रतिबन्ध लाग्ने गरी पनः आदेश जारी गर्न अनुरोध गर्दछौं।'

२४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको १० नम्बर बुँदामा फुटपाथ पसल,ठेला व्यापार,स्टेशनरी पसल,इलेक्ट्रिक पसलहरु र डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्म र बलेका ४ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस