aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
मानव पुँजीको विकास

‘सरकार तत्कालै विकास देखाउनु पर्ने दबाबमा छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
‘सरकार तत्कालै विकास देखाउनु पर्ने दबाबमा छ’
File:Photo

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार तत्कालै विकास देखाउनु पर्ने दबाबमा रहने बताएका छन् । मानव पुँजीको विकास सम्बन्धी विश्व बैंकले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

मानव पुँजी दिर्घकालिन सोचका साथ विकास गर्नुपर्ने बताउंदै उनले भने ’ सरकारको आयु ४र५ वर्षको हुन्छ र सरकारहरु संधै केही देखिने काम गरेर जनता खुशी पार्नैपर्ने बाध्यतामा हुन्छन् ।’ तर, यदि कोही पटक पटक सरकार चलाउन चाहन्छ भने उसले मानव पुँजीको विकासमा विशेष ध्यान दिनुपर्ने उनले बताए । 

मुलुकलाई विकासको उपल्लो चरणमा पुर्याउने हो भने नयाँ नयाँ आविष्कार र उपलब्ध श्रोत साधनको समुचित प्रयोगमा ध्यान दिनुपर्नेमा डा. खतिवडाको जोड थियो । उनले मानव पुँजीको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उच्च प्राथमिकता दिएको समेत बताएका छन्। मान्छेको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई सामाजिक सुरक्षा र मानव विकाससँग जोड्ने गरी बजेट ल्याइएको उनले सो अवसरमा स्पष्ट पारे ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता मानव विकासका क्षेत्रमा आफूले २१ प्रतिशतले बजेट बढाएको जानकारी बताउंदै खतिवडाले भने ’अन्य क्षेत्रमा १६ प्रतिशतको औषतमा बजेट बढाइएको भए पनि मानव विकाससँग जोडिएका क्षेत्रमा २१ प्रतिशतभन्दा धेरैले बजेट वृद्धि गरेको छु।’ भौतिक पूर्वाधारसँग मानव पुँजीको विकासलाई समेत जोडेर दीगो विकासको आधार अघि बढाइएको उनको दावी थियो  । 

कार्यक्रममा विश्व बैंकका नेपालस्थित कन्ट्री म्यानेजर फारिज हदाद जर्भोसले विकासशील देशहरुले मानव पुँजीको विकासलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए । भुटानका अर्थसचिव निम दोर्जीले मानव पुँजीको विकास गरी धनी र गरिबबीचको खाडल कम गर्ने गरी आफ्नो सरकारले पनि काम गरिरहेको बताए । 
 

प्रतिक्रिया दिनुहोस