aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

काभ्रेपलाञ्चोक । अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् ।

पाँचखाल नगरपालिका–१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा ४÷५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपैयाँ माग गरेको प्रहरीले जनाएको छ । 

अपहरणमा परेका सोही दिन बेलुका बनेपा नगरपालिका–१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको प्रहरीले बताएको छ । 

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको छ । 

उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस