काठमाडौं । साउन २५ गतेदेखि निष्कासन गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने भदौ २९ गते सोमवार अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर १ कित्ता शेयर अनुपातमा रू. १०० अंकित दरको रू. ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री खुला गरेको हो । यो हकप्रद शेयर विक्रीको अवधि कम्पनीले पछिल्लो समय १५ दिन थप गरेको थियो । यस अघि भदौ १४ गतेसम्म विक्री अवधि तोकिएमा १५ दिन थप गरी भदौ २९ गतेसम्म पु¥याएको हो ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेकाले असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो ।
यस हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदन विक्री प्रबन्धकसँगै सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ ।
सिभिलको यस हकप्रदलाई केयर रेटिङ्ग नेपालले वित्तीय आधारभूत अवस्था औषतमा रहेको संकेत गर्ने केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । हाल रू. ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको यस कम्पनीको शतप्रतिशत हकप्रदपश्चात रू.२२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस