aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब कर्णालीको आफ्नै एयरलाइन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
अब कर्णालीको आफ्नै एयरलाइन्स

कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनको तयारी गरेको छ। प्रदेश सरकारले बुधबार संसद्मा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाइन्स’ सञ्चालन योजना सार्वजनिक गरेको हो।

यो प्रदेश भौगोलिक रूपमा विकट हुनुका साथै सडकको सहज पहुँच छैन। एयरलाइन्स सञ्चालनका लागि आगामी आव भित्रै बजेटको व्यवस्था र अन्य प्रक्रियाका काम अगाडि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।

‘अब हाम्रो आफ्नै कर्णाली एयरलाइन्स हुन्छ। प्रदेशको आफ्नै जहाज र हेलिकप्टर हुनेछन्’ मन्त्री ज्वालाले भने, ‘नयाँ आर्थिक वर्षबाटै एयरलाइन्स सञ्चालनको प्रक्रिया सुरु हुन्छ। दुर्गम र हिमाली क्षेत्रका नागरिकको लागि हवाई सेवा नै भरपर्दो यातायात हो।’

प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाएर प्रदेशका अन्य जिल्लामा जहाज सञ्चालन गर्ने सरकारको योजना छ। हाल प्रदेशका दैलेख, जाजरकोट र सल्यानबाहेक अन्य जिल्लामा विमानस्थल छन्।

आवश्यक विमानस्थल उपलब्ध भएको, सडकको पहुँच नभएको र सडक यातायात पनि भरपर्दो नभएको अवस्थामा एयरलाइन्सबाटै नागरिकलाई सुविधा दिइने प्रदेश सरकारको भनाइ छ। निजी क्षेत्रसँगको सहकार्यमा एयरलाइन्स सञ्चालनको तयारी गरिएको समचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

उनले भने, ‘जहाज खरिदका लागि यति नै बजेट भनेर विनियोजन हुँदैन, तर हामीसँग पूर्वाधार कोष छ। त्यही बजेटबाट एकमुष्ट खर्च गर्न मिल्छ, त्यसैबाट नै जहाज र हेलिकप्टर खरिद गर्नेछौं।’

हरेक वडामा हेलिप्याड निर्माण गरिने दीर्घकालीन योजना रहेको प्रदेश सरकारले जानकारी दिएको छ। दुर्गमका गर्भवती, सुत्केरी र दुर्घटनाका घाइतेलाई प्रदेश सरकारले चालु आवबाट हवाई उद्धार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस