काठमाडौं । भारत स्थित केहि शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजीक सञ्जालमा विज्ञापन राख्दै विद्यार्थी भर्ना गरेको प्रति नेपाल शैक्षिक परामर्श संघले आपत्ति जनाएको छ । नेपाली परामर्शदाताहरुलाई अनौपचारीक सम्वन्ध सम्पर्कमा लिंदै तथा व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्ना तथा छात्रवृत्ति लगायतको प्रलोभनपुर्ण क्रियाकलापहरु सञ्चालन गरिरहेको संघले आरोप लगाएको छ ।
यस्ता कृयाकलापहरु नेपालमा प्रचलित ऐन कानून तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धि निर्देशीका २०७३ का विरुद्ध रहेको हुँदा यस्ता कृयाकलाप प्रति संघको ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता गैह्र कानूनी कृयाकलापमा संलग्न नहुन, नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृती एवम् प्रचलित ऐन कानून र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरुलाई भर्ना तथा छात्रवृत्ति लगायतका सुविधाको प्रलोभन नदेखाउन, त्यस्ता भ्रामक विज्ञापन प्रकाशित र प्रसारीत नगर्न समेत सम्वन्धित सबैमा आग्रह गरेको छ ।
साथै, यसै सन्दर्भमा आवश्यक कानूनी कारवाहिका लागि शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा, शिक्षा, विज्ञान तथा प्रविधि मंत्रालय, केशरमहल काठमाण्डौलाई समेत पत्राचार गरिएको जानकारी गराएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रचलित ऐन कानून तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका विरुद्ध भइरहेका विज्ञापन तथा विद्यार्थी भर्ना सम्वन्धि कृयाकलापहरु बन्द गर्न तत्कालै आवश्यक कानूनी कार्वाही गर्न समेत माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस