aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कलेज सञ्चालकको हाक्काहाकी जवाफ, 'तोकेभन्दा बढी शुल्क लिएकै हो '

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ जेठ २०७६
कलेज सञ्चालकको हाक्काहाकी जवाफ, 'तोकेभन्दा बढी शुल्क लिएकै हो '

काठमाडौं । विद्यार्थीसँग बढी शुल्क असुलेर विवादमा तानिएका मेडिकल कलेजहरूले तोकेभन्दा बढी शुल्क लिएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले बुधबार डाकेको छलफलमा सहभागी मेडिकल कलेज सञ्चालक तथा प्रतिनिधिले सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिएको खुलेआम स्विकारेका हुन् । उनीहरूले सरकारले तोकेको शुल्कमा कलेज चलाउन नसक्ने बताए ।

‘महँगी बढेको छ । फ्याकल्टी पाइँदैन । त्यसैले थोरै पैसामा मेडिकल कलेज चलाउन मुस्किल पर्छ,’ जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेले भने । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले मेडिकल पढ्दा स्वाभाविक रूपमै बढी खर्च हुने दाबी गरे । ‘चलाउनका लागि मात्र चलाउनु ठीक होइन, गुणस्तर पनि दिनुपर्‍यो, खर्च त भइहाल्छ नि,’ उनले भने, ‘हाम्रो त अहिले विद्यार्थी पनि ७५ जना छन् । सयसम्म विद्यार्थी आउँछन् भनेर सुनेको मात्र हो, देखेको छैन । अब भन्नुस् त कम खर्चमा कसरी पढाउने ?’

लुम्बिनी मेडिकल कलेजका सिइओ सन्तोषलाल श्रेष्ठले पनि नेपाली विद्यार्थीसँग ४७ लाख ९० हजार र भारतीय विद्यार्थीसँग भारु ४० लाख शुल्क लिएको स्वीकार गरे । ‘यही शुल्कले कलेज चलिरहेको छ । नत्र मुस्किल पर्छ,’ उनले भने ।

यो रकम सरकारले निर्धारण गरेभन्दा बढी हो । २८ असोज ०७५ मा सरकारले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह र एमबिबिएस विद्यार्थीका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको थियो । तर, विद्यार्थीबाट शुल्क उठाउँदा हिनामिना नगरेको उनीहरूको दाबी छ । व्यक्तिको खातामा कलेजले पैसा हाल्न नलगाएको मणिपाल कलेजका प्रशासन प्रमुख गौरव यादवले बताए । ‘शंका लागे छानबिन गर्नुस्,’ उनले सांसदहरूलाई चुनौती दिए । नयाँ पत्रिकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस