एजेन्सी । अमेरिकी चुनावको पूर्व सन्ध्यामा अमेरिका र चीनबिचको तनाव निकै बढेको छ । यसैबिच अप्रत्यासितरुपमा वासिङ्टनले बेइजिङ स्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएपछि स्थितिले कस्तो रूप लिने हो भन्ने चिन्ता थपिएको छ ।
चीनका लागि अमेरिकी राजदूत टेरी ब्राण्डस्टेडलाई ३ वर्ष भन्दा बढी बेइजिङमा बसेर सेवा गरिसकेपछि दुई देशबिचको तनाव उत्कर्षमा पुगेका बेला अमेरिकाले फिर्ता बोलाएको हो ।
आउँदो अक्टोबर महिनामा उनले चीन छोड्ने अनुमान गरिएको छ । यसो हुँदा अमेरिकी इतिहासमै निकै पेचिलो बनेको नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका बेला चीनमा अमेरिकाका उच्च स्तरीय प्रतिनिधि नरहने देखिएको छ ।
ब्राण्डस्टेड चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निकै नजिक मानिएका राजदूतकारुपमा चिनिन्छन् । उनको सी सँगको सम्बन्ध सन् १९८५ देखिकै हो । जुनबेला उनी चिन अमेरिका सरकार स्तरीय आदानप्रदानमा सहभागी भएका थिए ।
उनको कार्यकालमा एसिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव राम्रोसँग विकास हुन सकेको भन्दै अमेरिकी विदेश मन्त्री माइक पम्पिओले ट्विट मार्फत ब्राण्डस्टेडको प्रशंसा गरेका छन् । तर, चिनियाँ राष्ट्रपतिसँग राम्रो मित्रता भएका व्यक्तिलाई एकाएक अमेरिकाले फिर्ता बोलाउने निर्णय गरेसँगै थप आशंकाहरु भने उब्जिएका छन् ।
स्मरण रहोस्, भर्खरै अमेरिकाले मुस्लिम अल्पसंख्यकहरुमाथी अत्याचार गरेको आरोप लागेको चीनको झिङझियाङ पन्तमा उत्पादित केही महत्त्वपूर्ण उत्पादनहरूलाई अमेरिकी प्रवेशमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस