
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र पत्रकार विराट अनुपमबीचको विवाद उत्कर्षमा पुगेको छ । पत्रकार अनुपमको 'नाकको हड्डी भाँच्न एक करोड रुपैयाँ र एउटा घडेरी छुट्याएको छुँ' भन्दै मेयर चौधरीले धम्की दिएपछि विवादले चर्को रुप लिएको हो ।
सामान्य घटनालाई लिएर सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिबाटै पत्रकारलाई सिध्याईदिने सम्मको धम्की आउनु कानून राजको खिल्ली उडाउनु सरह हो । मेयरको यस्तो धम्की झन बढ्नुलाई पनि कुनै गम्भीर रहस्य लुकेको देख्न सकिन्छ । पत्रकार अनुपम तिनै व्यक्ति हुन्, जो थारुको छोरा उपमहानगरको प्रमुख बन्नुपर्छ भन्दै समाचार लेख्थे ।
तर, चौधरी मेयर बनेपछि पत्रकार अनुपमले बेला बेला मेयरको विरुद्धमा समाचार लेख्न थाले । यसरी उनको लेखाईमा परिवर्तन आउनुको कारण पनि गजबको छ । पत्रकार अनुपमले दयानन्द वैदिक मिसन (डिभिएम) ग्लोबल स्कुलको सार्वजनिक जग्गाका विषयमा समाचार लेखेका थिए ।
उक्त सार्वजनिक जग्गा स्कुलले हड्पेको भन्दै उपमहानगरले तारबार लगाएको थियो । केही व्यक्तिहरुले राति आएर भत्काइदिए । उनले सहि समाचार नै लेखे । तर, समाचार उपमहानगरको पक्षमा लेखेपनि माफियासँग मिलेर उनले मेयरलाई धम्की दिएको आरोप मेयर चौधरीले लगाउँदै आएका छन् ।
मेयर चौधरीका अनुसार सार्वजनिक जग्गाको खोजी गर्दा माफियासँग मिलेर पत्रकारले उनलाई थर्काए । उनले पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारहरुलाई केही दिनमै कारवाही चलाउने चेतावनी समेत दिँदै आए ।
डिभीएमले ३ बिघा हाराहारी सरकारी जग्गा मिचेर निजी प्रयोजनमा प्रयोग गरेको उपमहानगरको आरोप छ । ६ कठ्ठा निजी जमिन किनेर बाँकी सार्वजनिक जमिन हडपिएको भन्दै उपमहानगरले तारबार लगाएको थियो । त्यही जग्गाको विषयमा पत्रकार अनुपमले माफियासँग मिलेर धम्क्याएको मेयर चौधरीको मुख्य आरोप हो । त्यहि जग्गा प्रकरणपछि मेयर चौधरी उनीमाथि ज्यानै लिनेसम्मको धम्की दिँदै हिँडेका हुन् ।
पत्रकार अनुपमले भने सार्वजनिक जग्गाको खोजी गर्दा पत्रकारले माफियासँग मिलेकोले ‘थर्काएको’ भन्ने कुरा नियोजित रुपमा फैलाईएको बताउँदै आएका छन् । गलतलाई गलत र सहिलाई सहि भन्न खोज्दा मेयर चौधरी आफुमाथि खनिएको उनको आरोप छ ।
उनको विगतदेखिकै स्वभाव यस्तै रहेको भन्दै पत्रकार अनुपमले भने, ‘हामीमाथि मात्र होईन उनको विरुद्ध कोही बोल्यो भने त्यसलाई दुस्मननै सम्झने मेयर सापको बानी छ । जुन उहाँकै लागि घातक हो ।’
प्रतिक्रिया दिनुहोस