aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

उडान खुलेपछि यसरी गर्न सकिन्छ सुरक्षित यात्रा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
उडान खुलेपछि यसरी गर्न सकिन्छ सुरक्षित यात्रा

कोरोना भाइरस महामारीका कारण बन्द आन्तरिक हवाई सेवा असोज ५ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ। त्यसो गर्न कोभिड(१९ क्र्याइसिस म्यानेजमन्ट कमिटी (सीसीएमसी) ले मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको थियो। विमान कम्पनीका सञ्चालकहरूले भने असोज १ गतेबाट नै आन्तरिक उडान नियमित सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थिए।

कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षात्मक कार्यविधि गत भदौ ७ गते तयार पारिसकेको छ। कर्मचारी, सेवाग्राही, सवारीसाधन, चिट्ठीपत्र र फाइल, चमेना गृहलगायतलाई व्यवस्थित गर्न कार्यविधि बनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

कहाँबाट सुरु होला उडान ? 
कोरोना भाइरसको सङ्क्रमण कम भएका पहाडी जिल्लाहरूबाट उडान गर्नेगरी प्राथमिकता निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए। उनले भने, ‘तराईका जिल्लाहरूमा सङ्क्रमण ज्यादा भएकाले पहिला पहाडी जिल्लाहरूलाई प्राथमिकतामा राखिएको र क्रमशः बिस्तार गर्ने प्राधिकरणको योजना छ।’ तर तराईका जिल्लाका विमानस्थल पनि उडानका लागि तयार रहेको विमानस्थल कार्यालयहरूले जनाएका छन्।विमानसेवा सञ्चालकहरूले लामो समयदेखि आन्तरिक उडान खोल्न दबाव दिँदै आएका थिए।

कस्तो सावधानी आवश्यक ? 
कार्यविधिले स्वास्थ्यको सुरक्षाका लागि यसो गर्न भनेको छः 

  • सेवाग्राही तथा कर्मचारीले सुरक्षित मास्क अनिवार्य रूपमा लगाएर मात्र विमानस्थल तथा कार्यालय प्रवेश गर्ने
  • सेवाग्राही तथा यात्रुलाई प्रवेशद्वारमै तापक्रम जाँचेर र हातमा स्यानिटाइजर लगाएर मात्र प्रवेश गराउने
  • लागि खाजा-पानीको व्यवस्था आफै मिलाउने
  • एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कम्तीमा दुई मिटर राख्ने
  • खोक्दा तथा हाच्छिउँ गर्दा अर्कालाई असर नगरोस् भनेर सावधानी अपनाउने
  • रुघाखोकी लागेका, घाँटी दुख्ने, जीउ दुख्ने, ज्वरो आउने समस्या भएका व्यक्तिलाई प्रवेश नगराउने
  • यात्रुको ट्र्याकिङका लागि सम्पूर्ण विवरणसहित काउन्टरमा फर्म भराउने
  • आफ्ना लागि चाहिने लेख्ने कलमलगायत सम्पूर्ण सामान आफै लिएर विमानस्थल जाने
  • विमान चढ्न उडान हुनुभन्दा डेढ घण्टाअघि विमानस्थल पुग्ने

के भन्छन् विमानसेवा कम्पनीहरू ? 
स्थानीय विमान कम्पनीहरू आफू सेवा सञ्चालन तयार रहेको बताउँछन्। बुद्ध एयरका निर्देशक रूपेश जोशीका अनुसार विमान कम्पनीहरूले असोज १ गतेदेखि नै उडान सञ्चालनको अनुमति दिन सरकारलाई आग्रह गर्दै आएका थिए।

उनले भने, ‘सबै देशमा उडान खुला भइसक्यो। हाम्रोमा मात्र खुलेको छैन। हामी त लकडाउन भएको दुई महिनादेखि तयारी अवस्थामा छौँ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर सेवा सञ्चालन गर्न तयार रहेको बताउने विमानसेवा सञ्चालकहरूले त्यसको अभ्यास पनि गरिसकेका छन्। बीबीसी 

प्रतिक्रिया दिनुहोस