काठमाडौं । आफ्नो कार्यकाल पुरा गर्दै कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट मंगलबार औपचारिकरुपमा बिदा भएका छन् । नारामा मात्रै समृद्ध नेपाल सुखी नेपालीको रटन लगाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कथनी र करनीमा तालमेल नमिलाउँदा मुलुकले एक सक्षम प्रशासक गुमाएको छ ।
तर, आफूलाई पुनर्नियुक्त गर्न चौतर्फी दबाब र माग आए पनि सो सफल नबनेको प्रति बिदा हुँदै गर्दा कुलमानमा कुनै विश्मत भने देखिएन । बरु उनले कर्मचारीहरूलाई ऊर्जा कायम राख्न आग्रह गर्दै भने, ‘नेतृत्व आउने जाने भइरहन्छ । हाम्रो अहिलेको जुन ऊर्जा छ त्यो ऊर्जा जुनसुकै नेतृत्व आए पनि ररिहोस् ।’
आफ्ना सहयोगीप्रति कृतज्ञता व्यक्त गर्न कुलमानले भुलेनन् । भलै प्रधानमन्त्रीले उनले गरेको काम प्रति निकै कृतघ्न बन्दै उनको निरन्तरतालाई अस्वीकार गरेको अवस्था छ ।
कुलमानले भने, ‘यो टिमको स्पिड एकदम राम्रो छ । सबैले सफलतापूर्वक जिम्मेवारी निभाउनु भएको छ ।’ त्यसैगरि प्रधानमन्त्रीले बोल्ने गरेको तर, अहिलेसम्म व्यवहारमा नदेखाएको ‘समृद्ध नेपाल सुखी नेपाली अभियानको सारथि बन्न पाएकोमा आफू खुसी भएको’ उनले बताए । कार्यक्रममा उपस्थितहरूले कुलमानको सो अभिव्यक्ति चाहिँ प्रधानमन्त्री ओली प्रति लाक्षणिक व्यङ्ग्य वाणको रूपमा ग्रहण गरेका थिए ।
कुलमानलाई हटाएर उनको ठाउँमा आफ्ना नातेदारलाई नियुक्त गर्न लागेको भनेर अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री ओलीकै वक्र दृष्टिका कारण कुलमानको पुनर्नियुक्ति हुन नसकेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस