
काठमाडौं । भदौ २० गते अर्थ मन्त्रालयबाट विदा भएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा घोष्ट अर्थमन्त्री बनेका छन् । हिजो सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले डा. खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।
यो नियुक्तिसँगै अब उनी घोष्ट अर्थमन्त्रीको रुपमा बालुवाटारमा रहेर अर्थ मन्त्रालय हाक्ने छन् । उच्च स्रोतका अनुसार अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रमले अब अर्थमन्त्रीका रुपका अर्को व्यक्ति नियुक्त नगरी अर्थराज्य मन्त्री नियुक्त गर्ने बुझिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी बताए ।
खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए । राष्ट्रिय सभा सदस्य हुँदा २ वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस