
काठमाडौं । चैत ११ गतेदेखि बन्द व्यापार व्यवसाय बल्ल असोज १ देखि पूर्ण रुपमा खोल्न सरकारले अनुमति दिएको छ । बहुजन नेपालीहरूको प्रमुख चाड दशैं–तिहारको मुखमा व्यवसाय गर्ने यो अवसर कुनै व्यापारीले छुटाउनु हुँदैन । तर, नेपाल उद्योगी व्यापारीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्वका आकांक्षीहरू भने अहिले दुविधामा परेका छन् । उनीहरू यसरी के गर्ने के नगर्ने अन्योलमा पर्नुको खास कारण चाहिँ व्यापार गर्ने कि राजनीति गर्ने भन्ने हो ।
हुन पनि नेपाल उद्योग वाणिज्य महासंघले कहिले नयाँ नेतृत्व पाउँछ भनेर अहिले उद्यमी व्यवसायीहरूमा कौतुहता छ । नयाँ नेतृत्व सम्हाल्न तयार भएर बसेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तयार बनेर बसेका छन् । तर, महासंघमा नयाँ नेतृत्व चयन हुन सकिरहेको छैन । आजदेखि उद्यम व्यापार व्यवसाय सबै खुलेको र नेपालीको मुख्य चाड दशैं तिहार तथा छठ पर्व नजिकिएको छ । यो बेला भनेको उद्यमी व्यापारीका लागि वर्षदिनभरी चल्ने आधारशीला तयार गर्ने बेला हो ।
मुलुकको सबैभन्दा बढी आर्थिक गतिविधि हुने समय भनेकै दशैं अघि र पछिको महिना हो । यी दुई महिनामा समग्र मुलुकको आर्थिक गतिविधि ५० प्रतिशतले बढ््ने गरेको पाइन्छ । आर्थिक गतिविधि हुने यो मुख्य समयमा उद्यमी व्यवसायीहरू महासंघको साधारण सभाको तयारीमा लाग्ने कि आफ्नो कोभिडका कारणले धरासायी अवस्थामा पुगेको व्यवसाय गर्ने भन्ने अन्योलमा परेका छन् ।
महासंघ माथिल्लो नेतृत्व जतिसक्दो छिटो साधारणसभा गरेर चुनाव गर्ने तयारीमा भएपनि देशभरका उद्यमी व्यवसायीलाई समेटेर गर्नुपर्ने भएकोले पहिला आएको सिजनलाई ‘क्यास’ गर्ने सोचमा लागेका छन् । कोभिडले थिलोथिलो पारेको अर्थतन्त्रलाई उकास्न सकियो भने चुनावको भन्दा बढी प्रभावकारीता हुने एक पक्षको भनाइ छ भने अर्को पक्ष जतिसक्दो छिटो चुनाव गरेर नयाँ नेतृत्वका साथ नयाँ योजना र लक्ष्य लिएर अघि बढ्न राम्रो हुने धारणा राखिरहेका छन् ।
यदि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड शुरु भएकै बेला महासंघले २०७६ चैत २७ र २८ गते साधारणसभा गर्न सक्ने परिस्थिति बनेको भए अहिले नयाँ नेतृत्व आएको ५ महिना बितिसक्ने थियो । तर, अहिले पनि चुनाव कहिले हुन्छ भन्ने ठोस निर्णयमा व्यवसायीहरू पुग्न सकेका छैनन् । महासंघ नयाँ नेतृत्व अब छठ पछिमात्र हुने बुझिएको छ । महासंघ केन्द्रीय समिति बैठकले पनि सोही अनुसार कार्ययोजना बनाउँदा राम्रो हुने बताइरहेको छ । भोलि शुक्रबार औपचारिक रुपमा महासंघ पदाधिकारीको बैठक बस्दैछ ।
महासंघको ५४ औं साधारण सभाको मोडालिटि तयार गर्न गठित कमिटीले बुझाएको प्रतिवेदनमाथि शुक्रबार छलफल हुनेछ । उक्त बैठकले निकालेको निष्कर्षलाई अध्यक्ष राणाले कार्यकारिणी बैठकमा पेश गर्ने छिन् । कार्यकारिणी बैठकले निर्णय गरेपछि साधारण सभाको टुंगो लाग्ने छ ।
भोलि शुक्रबार बस्ने महासंघ कार्यकारिणी बैठकले साधारण सभाको मिति टुंगो लगाएपछि सरकारलाई उक्त मितिमा साधारण सभा गर्न मितिको वारेमा जानकारी दिने तयारी सरकारले गरेको छ ।
निर्वाचन हुनु पूर्व करिब एक महिना अघि नै निर्वाचनको तिथि मिति तय गर्नुपर्नेछ । भोलिको बैठकले १ महिनाको समय राखेर साधारण सभाको निर्णय गरेमा दशैंमा साधारण सभा गर्नु पर्ने हुन्छ । त्यसैले चाडपर्व पनि सकिए पछि छठ पछि साधारण सभा गर्ने तयारी गरिएको हो ।
शुक्रवार बस्ने पदाधिकारी छलफलमा महासंघको साधारण सभा छठ पछि गर्ने भन्ने विषयमा सबै पदाधिकारी एकमत हुने संभावना छ । जिल्ला र नगरका प्रतिनिधिहरुले छठपछि गर्नु पर्ने प्रस्ताव राख्न पदाधिकारहरुलाई जिल्ला नगर सदस्यहरूले टेलिफोनबाटै भनिरहेका छन् ।
महासंघ साधारण सभाले हालका वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउँछ भने अन्य पदाधिकारिको लागि निर्वाचन हुने गर्छ । साधारण सभा विषेशत वरिष्ठ उपाध्यक्षको निर्वाचनमा केन्द्रित हुनेछ । अब हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको पदका लागि बैकिङ व्यवसायी चन्द्र ढकाल र उद्यमी किशोर प्रधान भिड्ने भएका छन् ।
कोभिडका कारण महासंघ चुनावको तिथि सरेसँगै गोल्छाको कार्यकाल छोटिएको छ । यदि छठपछि मंसिरमा चुनाव भयो भने ८ महिनाले कटौती हुनेछ ।
प्रतिक्रिया दिनुहोस