aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सबस्टेशनबाट विद्युत् प्रसारण शुरु

  • रासस
    रासस
  • विहीबार, ०१ असोज २०७७
सबस्टेशनबाट विद्युत् प्रसारण शुरु

कपिलवस्तु । यहाँको महाराजगञ्ज सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत महाराजगञ्जमा सबस्टेशन निर्माण गरिएको हो ।  

विद्युत्को पहुँचबाट टाढा रहेका जिल्लाका हरदौना, कुशहवालगायत गाँउमा विद्युत् प्रवाह गर्नका लागि महाराजगञ्ज सबस्टेशनबाट सेवा शुरु गरिएको कृष्णनगर विद्युत् प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिए । सबस्टेशन नहुँदा चन्द्रौटा वितरण केन्द्रबाट विद्युत् प्रवाह हुँदै आएको थियो । महाराजगञ्ज सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरेर जिल्लाको सेवालाई चुस्तदुरुस्त बनाइएको प्रमुख शेखले बताए । 

जिल्लाका बुटहनीया, मर्यादपुर, तौलिहवा र हरदौना क्षेत्रका करिब एक हजार घरधुरीले सबस्टेशनबाट विद्युत् सेवा पाउने नेपाल विद्युत् प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कुल रु तीन अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत् सेवा प्रवाहमा सजिलो हुने प्रमुख श्रेष्ठको भनाइ छ ।

ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सबस्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो । दुई वर्षसम्म निर्माण पुरा गर्ने सम्झौता भए पनि विभिन्न कारणले निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक सागर लुईँटेलले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत महाराजगञ्जबाट ३३ केबिए विद्युत् लाइनलाई कन्ट्रोल गरी ११, ११ केबिए प्रसारण गरिएको हो । आज विश्वकर्मा पूजाको दिन पारेर सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ । प्राधिकरणले जग्गा खरिद गरेर सबस्टेशन निर्माण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस