aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्याज महँगिदा ठूला व्यापारी समेत चिन्तित, कृषिमा ५ अर्ब लगानी गर्ने दिपक मलहोत्राको यस्तो छ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
प्याज महँगिदा ठूला व्यापारी समेत चिन्तित, कृषिमा ५ अर्ब लगानी गर्ने दिपक मलहोत्राको यस्तो छ योजना

काठमाडौं । भारतले प्याज निकाशीमा प्रतिवन्ध लगाए लगत्तै नेपालमा प्याजको भाउ आँकासिएको छ । वर्षै नै चाडवाडको मौसममा प्याजले पिरोल्ने विगत कै निरन्तरता यो साल दोहोरिएपछि त्यसको दीर्घकालीन समाधान खोज्न केही व्यवसायीहरू लागि परेका छन् । 

यस्तै व्यापारिक समूहमध्ये एक हो, आईएमएस ग्रुप । ग्रुपका अध्यक्ष दिपक मलहोत्राले हालै प्याजको हाहाकार देखिएपछि धेरैले आफूलाई यसको पनि समाधान चाहियो भन्दै फोन गरेको बताए । उनले यो साल केही गर्न नसकेकोमा खेद प्रकट गर्दै भने ‘ढुक्क हुनुहोस्, अर्को साल दशैं अगाडि प्याजको भाउ बढ्न दिँदैनौ ।

आफ्ना सम्पूर्ण व्यवसायहरूलाई एकातिर पन्छाउँदै कृषि केन्द्रीत भएर १८० डिग्रीमा मोडिने योजना सुनाउँदै उनले भने ‘देशमै उत्पादन गरेर आगामी वर्ष नै प्याजको माग धान्न त नसकिएला तर, बेलैमा सस्तोमा आयात गरेर चाडवाडको बेलामा समेत सस्तोमा बिक्री गर्ने योजना बनाइ सकेका छन् । 

नेपालमा प्याज खेतीको सम्भावना वारे समेत छलफल शुरु गरिसकेको आईएमएस गु्रपले देशव्यापी रुपमा कृषिमा ठूलो लगानी गर्ने भएको छ । ग्रुपले देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा व्यापक लगानी गर्न लागेको हो । 
कृषि क्षेत्रबाटै देशलाई आत्मनिभर बनाउन सकिनुका साथै देशभित्र लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिने भएकोले यसमा व्यवस्थित तरिकाले लगानी गर्न लागिएको आईएमएसले जानकारी दिएको छ । 

ग्रुपले कृषि क्षेत्रमा लागनी गर्न एक अर्ब रुपैयाँ बिउ पुँजी राखेर अन्य कृषिको वृहत्त परियोजना अघि बढाउन लागेको हो । परियोजना तयार भएपछि ग्रुपले बाँकी पुँजी बैंकबाट ऋण लिएर योजना अघि बढाउने तयारी उनले गरेका छन् ।  

‘देशलाई आत्मनिर्भर बनाउने ग्रुपको अभियान हो,’ उनले भने ‘अबको २ महिनामा कृषि परियोजनाको माष्टर प्लान तयार हुन्छ । त्यसपछि कति खर्च लागत लाग्छ, कति उत्पादन गर्न सकिन्छ र कतिले रोजगारी पाउँछन् भन्ने थाहा हुन्छ ।’

ग्रुपले कृषि वस्तु उत्पादनदेखि प्रशोधन, भण्डार तथा बजारीकरण समेतको फूल प्याकेज तयार पार्न लागेको छ । देशको आवश्यकता वा खपतको मात्र हेरेर कृषि उपज उत्पादन गर्ने योजना ग्रुपको हो । जुन जुन ठाउँमा जे जे को सम्भावना छ त्यहि अनुसारको उत्पादनले प्राथमिकता पाउने छ ।’

आलु, प्याज, गाँजर मूलादेखि सबै अनाज, सबै प्रकारका फलफूल अबको केही वर्षमा नेपाली उत्पादनले नै धान्य छ । नेपालमा प्रर्याप्त मात्रामा सित भण्डारहरू तयार भएपछि वेमौसममा वस्तु अभाव हुन नदिने गरी प्रर्याप्त शीत भण्डारहरू स्थापना गरेर आपूर्तिको व्यवस्थापन समेत मिलाउने तयारी थालिएको छ । 

अहिले रातारात प्याजको मूल्य दोब्बर भयो । यसमा वारेमा समेत अध्ययन गरेर उत्पादन हुन सक्नेसम्म गर्ने र नभएमा वर्षभरिलाई कति प्याज आवश्यकता पर्छ सोही अनुसारको आयात गरेर भएपनि अहिलेको जस्तो अभाव वा कालोबजारी हुन नदिने अध्यक्ष मलहोत्राले बताए । ‘वर्षैपिच्छे यहि समयमा प्याज महँगो हुन्छ,’ उनले भने । हरेक वर्ष यस्तो अवस्था हुन नदिन ग्रुपले प्रर्याप्तमात्रामा यस्ता वस्तुको स्टोरेज गर्नेछ । 

 
 

प्रतिक्रिया दिनुहोस