aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
सरकारी खर्च

सरकारले कति गर्यो २ महिनामा खर्च, कसरी बढ्दै छ खर्चको प्रवृत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ असोज २०७७
सरकारले कति गर्यो २ महिनामा खर्च, कसरी बढ्दै छ खर्चको प्रवृत्ति

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा ७५ अर्ब २४ करोड खर्च गरेको छ । हाल भएको खर्च कुल बजेटको जम्मा ५.१० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि जम्मा १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ । सो खर्चमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्च हो भने ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत खर्च र १ खर्ब ७२ अर्ब ७८ करोड वित्तीय व्यवस्था खर्च हो ।

हाल भएको खर्चमा चालु खर्च अत्यधिक बढी छ भने पुँजीगत खर्च अत्यन्त कम छ । यो अवधिमा सरकारले साढे एक अर्बभन्दा बढी ऋण तिरेको छ । २ महिनाको यो अवधिमा ६८ अर्ब ८० करोड चालु खर्च भएको छ भने चार अर्ब ८६ करोड पुँजीगत खर्च र एक अर्ब ५७ करोड वित्तीय व्यवस्थामा भएको खर्च हो । 

कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञाले विकास खर्चमा खासै प्रगति हुन नसकेको हो । आर्थिक वर्षको सुरुवाती दिनमा विकास खर्च कमै हुने प्रवृत्ति रहे पनि यस वर्ष भने कोरोनाका कारण निकै न्यून रहेको देखिएको छ । 

यस अवधिमा भएको पुँजीगत खर्च चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत हो भने लक्ष्यको १.३ प्रतिशत मात्रै हो । आर्थिक वर्षको अन्त्यमा काम पनि हतार हतार हुने र भुक्तानी पनि सोही समयमा बढि हुने नेपालको परम्परा रहेको छ । 

यस अवधिमा राजस्व संकलन एक खर्ब पाँच अर्ब रुपियाँभन्दा बढि रहेको छ जुन निकै उत्साहजनक देखिन्छ । जनताहरु कोरोना त्रास र लकडाउन तथा निषेधाज्ञाको मारमा रहेको बेलामा पनि कर तिर्न अग्रसर रहेको देखाउँछ । यो राजस्व संकलनको कुल लक्ष्यको १०.४ प्रतिशत हो । 

सरकारले २ महिनाको यो अवधिमा जम्मा एक खर्ब ७ अर्ब २० करोड राजस्व संकलन गरेको छ । सो राजस्वमध्ये एक खर्ब ३ अर्ब ३० करोड कर राजस्व हो भने ३ अर्ब ८९ करोड गैरकर राजस्व हो । चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलज गर्ने लक्ष्य लिएको छ । सो लक्ष्यमध्ये नौ खर्ब १२ अर्ब ९४ करोड कर राजस्व हो भने ९८ अर्ब ८० करोड गैर कर राजस्व हो । 
 

प्रतिक्रिया दिनुहोस