aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘व्यवसायमा सफलता पाउन यसरी बनाउनुस् आफ्नो व्यवसायीक योजना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
‘व्यवसायमा सफलता पाउन यसरी बनाउनुस् आफ्नो व्यवसायीक योजना’

जसरी घर बनाउनु भन्दा पहिले घरको नक्सा र सम्पूर्ण सामग्रीको पूर्व तयारी गर्नु पर्छ, त्यसरी नै व्यवसाय शुरु गर्नु भन्दा पहिले एउटा सफल उद्यमी हुन व्यवसायीक योजना बनाउन आवश्यक हुन्छ । हाल नेपालमा व्यवसाय शुरु गर्ने एउटा लहर नै शुरु भएको छ । व्यवसाय शुरु गर्नु भन्दा पहिले राम्रोसँग व्यवसायीक योजना बनाइएन भने व्यवसायमा सफल हुन गाह्रो हुन्छ ।

व्यवसायीक सफलताको एउटा मुख्य आधार भनेको राम्रोसँग बनाएको व्यवसायीक योजना हो । यस लेखमा व्यवसाय गर्न तयारीमा रहनु भयको सम्भाव्य उद्यमीहरूलाई आफ्नो व्यवसायको व्यवसायीक योजना आफै बनाउन सजिलो होस् भन्ने उद्देश्यले व्यवसायीक योजनाको बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । 

व्यवसायीक योजनाले उद्यमीहरूलाई व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायसँग सम्बन्धित बजार, उत्पादन, खर्च तथा वित्त सम्बन्धी सम्पूर्ण पक्षहरूको बारेमा गरीएको लिखित लेखा जोखा (अनुमानित योजना) बनाउनलाई मद्दत गर्दछ । 

हामीले व्यवसाय गर्नु पूर्व किन व्यवसायीक योजना बनाउनु पर्दछ भन्ने कुरा बुझन आवश्यक छ । सबै भन्दा पहिले त व्यवसायीक योजना उद्यमीको सफलताको सुत्र हो । व्यवसायी आफैले योजना अनुरुप व्यवसाय शुरुआत तथा विस्तार गर्ने भएकोले आफ्नै योजना हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

व्यवसायसँग सम्बन्धित कानुनी प्रकृया पूरा गर्नको लागि सम्बन्धित सरकारी कार्यालायहरूमा पेश गर्न, बैंक वा सहकारीबाट ऋण लिन, साझेदारी व्यवसाय भए व्यवसायीक पारदर्शिता कायम गर्न पनि व्यवसायीक योजनाको भूमिका अत्यन्त महत्वपूर्ण छ ।  

कुनै पनि व्यवसाय स्थापना गरि सञ्चालन गर्नको लागि आवश्यक सम्पूर्ण पक्षहरू जस्तै बजार, उत्पादन, खर्च तथा वित्त सम्बन्धी सम्पूर्ण पक्षहरूको बारेमा गरिएको योजनालाई नै व्यवसायीक योजना हो । व्यवसायको योजना हेरेपछि कुल प्रस्तावित व्यवसाय के कस्तो छ भन्ने छर्लङ्ग हुनुपर्दछ । 

त्यसैले व्यवसायको योजनाले कुन वस्तु÷सेवा उत्पादन गर्ने हो ? कस्तो गुणस्तरको वस्तु÷सेवा उत्पादन गर्ने हो ? उत्पादनको बजार क्षेत्र कहाँ छ ? बजार माग कस्तो छ ? कति परिमाणमा उत्पादन गर्ने हो ? मेशिन उपकरण के कति चाहिन्छ ? के कस्ता कच्चा पदार्थहरूको आवश्यकता पर्दछ ? उपलव्धता कस्तो छ ? के कस्ता दक्षता भएका के कति कामदार चाहिन्छ ? अन्य खर्चहरू के कति लाग्ला ?  कति पुँजी आवश्यक पर्छ ? कसरी पूँजी जुटाउने ? व्यवसायले कति मुनाफा देला ? लगानीबाट कति प्रतिफल पाउन सकिन्छ ? आदि व्यवसाय सम्बन्धी उठ्ने प्रश्नहरूको जवाफ दिनसक्नु पर्दछ ।

व्यवसाय जहिले पनि बजारमागमा आधारित हुनु पर्दछ । व्यवसायीक योजनालाई बजार योजना, उत्पादन योजना, खर्च योजना, वित्तीय व्यवस्थापन योजना र जोखिम व्यवस्थापन योजना अन्तर्गत वर्गीकरण गर्नु पर्दछ । अनि मात्र पूर्ण व्यवसायीक योजना तयार हुन्छ ।

बजारको चाल अनुसार आफ्नो व्यवसायीक रणनीति परिवर्तन गर्नसक्ने खुबी व्यवसाय सफलताको मुख्य आधार हो । बजार योजनाले बजार रणनीति बनाउन धेरै सहयोग गर्दछ । बजार योजना निर्माण गर्दा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

उत्पादन गर्ने वस्तु/सेवा 
के वस्तु वा सेवा उत्पादन गर्ने हो ? यदि वस्तु उत्पादन गर्ने हो भने त्यसको साइज, रंग, आकार, तौल, विशेषता आदि र के कति प्रकारका वस्तु उत्पादन गर्ने हो सो को विवरण दिनु पर्नेछ । यदि सेवा भए त्यसको प्रकृति तथा विशेषता उल्लेख गर्ने आफूले उत्पादन गर्ने भनेको वस्तु÷सेवा हाल बजारमा भैरहेको प्रतिस्पर्धीको वस्तु÷सेवा भन्दा के फरक छ सो पनि खुलाउने ।
व्यवसाय स्थापना गर्ने ठाउँ 

लागत घटाउन व्यवसाय स्थापना गर्दा ठाउँलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यदि व्यवसाय खुद्रा व्यापार छ वा सेवामूलक छ भने मुख्य बजारको नजिकै स्थापना गर्नु उचित हुन्छ । यदि उत्पादनमूलक छ भने कच्चा पदार्थ पाइने ठाउँ नजिक आवश्यक पूर्वाधार भएको ठाउँ छानेर स्थापना गर्नु उपयुक्त हुन्छ । व्यवसाय स्थापना गर्ने ठाउँ पनि उद्यमीले लिनुपर्ने महत्वपूर्ण निर्णयहरू मध्ये एक हो । 

लक्षित बजार क्षेत्र

आफूलेउत्पादन गर्ने वस्तु÷सेवाको प्रकृति, यातायात तथा वितरणको सुविधा, प्रतिस्पर्धा आदि कुरालाई विचार गरेर आफुले भौतिक रुपमा कुन कुन बजार क्षेत्रमा आफ्नो वस्तु सेवा विक्री वितरण गर्ने भन्ने योजना गर्नु पर्दछ । 

उत्पादन बिक्री लक्ष्य

आफूले विक्री वितरण गर्ने योजना गरेको बजार क्षेत्रमा सो वस्तु सेवाको उपभोग कति भइरहेको छ ? प्रतिस्पर्धीहरू कति छन् ? ठूला साना कस्ता छन् ? उनीहरूको वस्तु सेवा र आफ्नो वस्तु ठ्याक्कै उस्तै छ कि फरक छ आदि कुराहरूको मनन् गरेर कति परिमाणमा वस्तु÷सेवा उत्पादन तथा बिक्री गर्ने भन्ने निर्धारण गर्नु पर्दछ । व्यवसायीकयोजनाको अर्को महत्वपूर्ण पाटो भनेको उत्पादन योजना हो । यस अन्तर्गत निम्न कुरामा ध्यान दिनु पर्दछ ।  

उत्पादन प्रकृया विधि

वस्तु वा सेवाको उत्पादन कसरी गरिन्छ वा कुन विधि तरिकाबाट उत्पादन गर्ने भन्ने बारे उद्यमीलाई ज्ञान हुनु पर्दछ । व्यवसायीक योजनामा वस्तु सेवा उत्पादन गर्ने मुख्य क्रियाकलापको विवरण खुलाउनु पर्दछ । यसले गर्दा उत्पादनको हर चरणमा कस्तो दक्षता भएको कति कामदारको आवश्यकता पर्दछ भन्ने पनि थाहा हुन्छ ।

आवश्यक स्थिर सम्पत्ति 

व्यवसाय संचालन गर्नको लागि के कति घरजग्गा, मेशिन औजार, फर्निचर तथा सवारी साधनको आवश्यक पर्दछ भन्ने कुराको बारेमा राम्रोसँग अन्दाज (इस्टिमेट) गर्नुपर्दछ । किनकी यदि आवश्यकता भन्दा बढी अनुमान गरियो भने बढी पुँजी लगानी भई अनावश्यक रुपमा बढी व्याज तिरिराख्नु पर्ने हुन्छ । बढी ब्याज तथा ह्रासको कारणले वस्तु सेवाको लागत बढ्न जान्छ । चाहिने भन्दा बढी उत्पादन हुने हुँदा मौंज्दात बढ्दै जान्छ ।

मौंज्दात बढ्नुको अर्थ लागत बढ्नु हो । व्यवसायीक योजना बढी खर्चिलो देखिएमा वित्तीय संस्थाहरूले लगानी नगर्न सक्छन । 
सम्भव भएसम्म शुरुमा कम मेशिन र सानो टहराबाट उद्योग स्थापना शुरु गर्नु राम्रो हुन्छ । घर जग्गा भाडामा लिन पनि सकिन्छ । मेशिन खरिद गर्दा त्यसको वास्तविक क्षमता थाहा पाउर्नुपर्दछ । कति घर÷जग्गा÷टहारो, मेशिन औजार तथा कति क्षमताको वा कति साइजको कतिवटा चाहिन्छ, तिनीहरूको मूल्य कति पर्छ, जडान खर्च कति लाग्छ आदि कुराहरू उल्लेख गर्नुपर्दछ ।

स्थिर सम्पत्तिमा ह्रासकट्टी

घर, टहरो, मेशिन÷औजार, फर्निचर आदि प्रयोग गर्दै जाँदा केही समय पछि खिएर प्रयोग गर्न नसकिने स्थितिमा पुग्दछ र त्यसको सट्टा अर्को खरीद गर्नुपर्ने हुन्छ । यसरी अर्को सामान ल्याउनको लागि व्यवसायले वर्षेनी केही रकम छुट्याएर राख्नुपर्दछ । यसैलाई ह्राकट्टी भनिन्छ ।

यसरी रकम छुट्याउँदा के को आधारमा कति रकम राख्ने भन्ने प्रश्न आउन सक्दछ । सानो व्यवसायहरूले यसको लागि या त आफ्नो स्थिर सम्पत्तिको आयु कति छ त्यसको आधारमा सम्पत्तिको मूल्यलाई त्यसको आयुले भाग गरेर निकाल्न सकिन्छ या कर कार्यालयले तोकेको दर अनुसार ह्रासकट्टी काट्न सकिन्छ । व्यवसायको लागत निकाल्न खर्च योजना महत्वपूर्ण मानिन्छ । यस अन्तर्गत निम्न कुरामा ध्यान दिनु पर्छ ।

कच्चा पदार्थ आवश्यकता र त्यसको लागत

आफूले लक्षित गरेको परिमाणमा वस्तु÷सेवा उत्पादन गर्न कति कच्चा पदार्थ चाहिन्छ पत्ता लगाउनु पर्दछ । कच्चा पदार्थ हिसाव गर्दा दैनिक, मासिक वा वार्षिक रुपमा कति इकाई चाहिन्छ, हिसाव गर्नुपर्दछ । परिमाण थाहा भएपछि प्रति इकाई दर कति पर्छ बुझी जम्मा दैनिक÷मासिक वा वार्षिक अनुमानित कच्चा पदार्थ लागत कति पर्दछ निकाल्न सकिन्छ । कच्चा पदार्थको बारेमा निर्णय लिँदा कच्चा पदार्थको स्रोतमा पनि उत्तिकै ध्यान दिनु आवश्यक पर्दछ । कच्चा पदार्थको स्रोतको बारेमा मुख्य तीन कुराहरूमा ध्यान पुर्याउनु पर्दछ । 

कच्चा पदार्थको मूल्य र गुणस्तरमा ।
यातायात तथा ढुवानी खर्च कमगर्न उत्पादन स्थलको नजिक भएको हुनुपर्नेछ । कच्चा पदार्थ वर्ष भरी पाइन्छ, पाइदैन वा आपूर्ति कतिको भरपर्दो छ ।

आवश्यक कामदार लागत

उद्योग, व्यवसायमा काम गर्ने कामदारहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ । उत्पादनसँग सिधा सम्बन्ध भएकोलाई प्रत्यक्ष कामदार र व्यवस्थापक, लेखापाल, बिक्रेता आदि जस्ता उत्पादन कार्यसँग सोझै सम्बन्ध नभएका कामदारलाई अप्रत्यक्ष कामदार भनिन्छ । त्यसै गरि प्रत्यक्ष कामदार पनि दक्ष, अर्धदक्ष र अदक्ष गरि तीन किसिमका हुन्छन् । 

व्यवसायीकयोजना तयार गर्दा आफ्नो उद्योग, व्यवसायलाई के कस्ता किसिमका, कतिजना कामदार आवश्यक पर्दछन् र उनीहरूलाई मासिक कति ज्याला÷तलब दिनुपर्दछ । हिसाब गरि मासिक÷वार्षिक कामदार खर्च कति लाग्छ निकाल्नु पर्दछ । साथै आफूलाई आवश्यक पर्ने कामदारको उपलव्धता बारेमा पनि विचार पुर्याउनु पर्दछ ।

अन्य खर्च

वस्तु सेवा उत्पादन गर्न लाग्ने कच्चा पदार्थ र कामदार वाहेकका अन्य खर्चहरू जस्तै घरभाडा, मर्मत–सम्भार, मसलन्द, यातायात, ढुवानी, पानी, बिजुली, टेलिफोन, चिया–खाजा तथा अन्य भैपरी आउने खर्चहरूलाई अन्य शीर्षक खर्च भनिन्छ । यस्ता खर्चहरूमा कुनै एउटा हदसम्म उत्पादनमा तल माथि हुँदा खर्चिएको रकममा खास तल माथि हुँदैन । तसर्थ यस्ता खर्चहरू सकेसम्म घटाउन सकियो भने वस्तु÷सेवा उत्पादन गर्न लाग्ने लागत कमगर्न सकिन्छ ।

प्रति इकाई लागत

कच्चा पदार्थ खर्च, कामदार खर्च र अन्य खर्च जोडेर लाग्ने रकमलाई उत्पादन परिमाण वा संख्याले भाग गरेर वस्तु÷सेवाको प्रति इकाई लागत निकाल्न सकिन्छ । खर्चहरूको हिसाव साधारणतया मासिक रुपमा गरिन्छ । यसरी प्रति इकाई लागत निकाल्दा मासिक खर्च हिसाव गरिएको भए मासिक उत्पादन परिमाणले र वार्षिक खर्च हिसाव गरिएको भए वार्षिक उत्पादन परिमाणले भाग गर्नुपर्दछ ।

यस अवस्थामा ह्रासकट्टी र ब्याजलाई जोडिदैन । किनकी यस अवस्थामा कति ऋण आवश्यक पर्दछ पत्ता लागिसकेकोे हँुदैन भने ह्रासकट्टी भनेको नगद खर्च होइन साथै ह्रासकट्टी वर्षको अन्तमा मात्र हिसाव गरिन्छ । तसर्थ चालु पुँजीको हिसाव गर्दा ह्रासकट्टी र ब्याजलाई राख्नु पर्दैन ।
व्ययसायिक योजनाको सबै महत्वपूर्ण पक्ष भनेको वित्तिय स्रोतको व्यवस्थापन गर्नु हो । वित्तीय योजना योजना  निर्माण गर्दा निम्न कुरामा ध्यान दिनु पर्दछ । 

आवश्यक कूल पुँजी

कूल पुँजीको आवश्यकतालाई तीन भागमा विभाजन गर्न सकिन्छ । स्थिर पुँजी, उत्पादन अघिको खर्च र चालु पुँजी । अर्को शव्दमा यी तीन किसिमको पुँजीको जोडलाई नै कुल पुँजी भनिन्छ ।

स्थिर पुँजीः व्यवसायको लागि प्रयोग गरिने एक वर्ष भन्दा बढी खप्ने प्रकृतीका सम्पत्तिलाई स्थिर सम्पत्ति भनिन्छ । जस्तै जग्गा, घर कारखाना, मेशिनर औजार, फर्निचर, सवारी साधन आदि स्थिर सम्पत्ति खरिद गर्न आवश्यक लगानी वा रकमलाई स्थिर पुँजी भनिन्छ ।

उत्पादन अघिको खर्चः उत्पादन शुरु गर्नु अघि लाग्ने विविध खर्चहरू जस्तै– तालिम खर्च, बजार अध्ययन खर्च, व्यवसाय दर्ता खर्च, नमुना उत्पादन खर्च आदिलाई उत्पादन अघिको खर्च भनिन्छ । यस्तो खर्चलाई स्थिर प्रकृति कै खर्चको रुपमा व्यवहार गरिन्छ ।

चालु पुँजीः व्यवसायलाई सुचारु रुपले सञ्चालन गर्न हर समय आवश्यक पर्ने नगद वा अन्य वस्तुगत पुँजी (जसलाई आवश्यकता अनुसार छोटो समय भित्रै नगदमा परिवर्तन गर्न सकिन्छ) लाई चालु पुँजी भनिन्छ । यो पुँजीको अभावमा व्यवसाय सञ्चालन गर्न सम्भव नहुने भएकोले यसलाई सञ्चालन पुँजी पनि भनिन्छ । कच्चा पदार्थ मौंज्दात, तयारी वस्तुको मौंज्दात, अर्ध तयारी वस्तुको मौज्दात र उधारो बिक्री र नगद व्यवस्थापन गर्न चालु पुँजी आवश्यकता पर्दछ । 

पुँजीको स्रोतः
    

कुल पुँजी कति आवश्यक पर्छ हिसाव निकाले पछि उक्त पुँजी कसरी जुटाउने भन्ने हो । अर्थात आवश्यक कुल पुाजी आफैले मात्र लगानी गर्ने हो वा बैंक, साथीभाइ, नातेदारमध्ये कसैबाट ऋण लिने हो, लिने भए कति जति लिने हो, निर्णय लिनु पर्दछ । यदि ऋण लिने भए के धितो राख्ने भन्ने पनि निश्चित गर्नु पर्दछ ।

बिक्री मूल्य निर्धारणः

बिक्री मूल्य निर्धारण गर्नु अघि वस्तु सेवाको अन्तिम लागत निकाल्नु पर्दछ । प्रति इकाइ उत्पादन लागतमा प्रति इकाई बयाज र ह्रास जोडे पछि अन्तिम लागत निस्कन्छ । वार्षिक ब्याज र ह्रासलाई वार्षिक उत्पादन परिमाणले भाग गरेपछि प्रति इकाई ब्याज र ह्रास निस्कन्छ । अन्तिम लागत हिसाव गरिसकेपछि बिक्री मूल्य निकाल्ने साधारणतया निम्न अनुसारका तीन तरिकाहरू छन् ।

लागतमा थप तरिकाः वस्तु सेवा उत्पादन गर्न लागेको अन्तिम वा कुल लागतमा केही प्रतिशत नाफा थप गरेर बिक्री मूल्य निर्धारण गर्न सकिन्छ । तुलनात्मक तरिकाः आफूले उत्पादन गर्ने जस्तै किसिमको बजारमा पाइने वस्तु सेवाको मूल्य गुणस्तरसँग आफ्नो वस्तुको तुलना गरि मूल्य निर्धारण गरिन्छ ।

बजार ग्राहकको क्षमता अनुसारः यो तरिका प्रस्तावित वस्तु÷सेवाको बजारमा हुने माग र आपुर्तिमा आधारित हुन्छ । बजारको माग अनुसार ग्राहकले कति तिर्न सक्छ सोही आधारमा मूल्य निर्धारण गरिन्छ ।

नाफा नोक्सान हिसावः

सब भन्दा पहिले वस्तु÷सेवाको बिक्रीबाट वार्षिक आम्दानी कति हुन्छ हिसाव निकाल्नु पर्दछ । वार्षिक लक्ष्यलाई प्रति इकाई बिक्री मूल्यले गुणन गरी बिक्रीबाट हुने वार्षिक आम्दानी निकाल्न सकिन्छ । यसरी निस्केको आम्दानीबाट सबै वार्षिक खर्चहरू कच्चा पदार्थ, कामदार, अन्य खर्च, ब्याज र ह्रासकट्टी घटाइ के कति नाफा या नोक्सान भयो थाहा पाउन सकिन्छ । यदि नाफा आएको छ भने यस्तो नाफालाई कर तिर्नु अघिको खुद नाफा भनिन्छ ।
लगानीमा प्रतिफलः 

प्रस्तावित उद्योग÷व्यवसाय गर्नु ठीक छ छैन भन्ने निर्णय लिनु अघि आफूले गरेको लगानी अनुसार फाइदा हुन्छ, हुँदैन वा कतिको फाइदा हुन्छ हेर्नु आवश्यक हुन्छ । यदि लगानी (कुल पूँजी) को अनुपातमा नाफाको प्रतिशत धेरै कम छ भने त्यस्तो व्यवसायमा लगानी गर्नु त्यति फाइदाजनक हुँदैन । लगानीमा प्रतिफलको मूल्यांकन गर्दा बैंकमा नगद राखेमा प्राप्त हुने ब्याज दर भन्दा लगानीको प्रतिफल जति बढी भयो । त्यती नै फाइदाजनक मान्न सकिन्छ ।
                    
वार्षिक नाफा                                 खुद नाफा
        लगानीमा प्रतिफल:         कूल पूँजी लगानी    × १०० हुन्छ ।

माथि उल्लेखित विश्लेषण र जोखिमको व्यवस्थापनको विश्लेषण गर्दै व्यवसायीकनिष्कर्ष निकाल्नु पर्दछ र  व्यवसायीकयोजना निर्माण गर्नु पूर्व व्यवसायीकयोजनासँग सम्बन्धि बजार सूचना संकलन गर्न आवश्यक छ ।  सहि र तथ्य परक सूचनाले मात्र वास्तविक व्यवसायीकयोजना निर्माण गर्न सकिन्छ । राम्रो व्यवसायीकयोजना हुनु भनेको र व्यवसायीकयोजनाको आधारमा व्यवसाय गर्ने बानीले व्यवसायीकसफलता निश्चित प्राय छ ।

लेखकः उद्यमशीलता विज्ञ क्षेत्रमा कार्यरत हुनु हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस