
काठमाडाैं । आइतवार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको पार्टी प्रवक्ताले बताएका छन् ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने: "तर व्यक्तिहरूबारे केही कुराकानी भएको छैन । आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग त्यसबारेमा पछि नै छलफल हुन्छ ।" सरकारलाई अझ प्रभावकारी बनाउने गरी विभिन्न कोणबाट छलफल भएको बताए पनि प्रवक्ता श्रेष्ठले पुर्नगठन कस्तो हुने भन्ने खुलाएनन् ।
यतिखेर सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा मन्त्री पद रिक्त छ । यसअघि स्थायी कमिटीको निष्कर्ष र निर्णयहरूलाई कार्यान्वयन प्रक्रियामा लैजाने क्रममा आइतवारको बैठक बसेको बताइएको थियो ।
प्रवक्ता श्रेष्ठले आइतवारको बैठकमा नीतिगत रूपमा चारवटा विषयको कार्यसूची बनाइएको बताए । आइतवारको बैठकले मुख्य रूपमा मन्त्रिपरिषद पुर्नगठनका नीतिगत मापदण्डका विषयमा विभिन्न कोणहरूबाट सुझाव दिइएको बताइएको छ ।
श्रेष्ठले भने: "मन्त्रिपरिषद्को पुर्नगठनबारे स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय गरिएको छ ।"
संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय गर्नका सजिलो पार्ने गरी आधार तयार पारिदिने, साङ्गठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने सङ्गठन र विभागका निर्णयहरूबारे छलफल र अनुमोदनको प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीका रिक्त पदपूर्ति गर्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई आर्थिक सहयोग गर्नेबारे छलफलसमेत भएकाे थियाे ।
सत्तारूढ पार्टीको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदा सरकारी स्रोतको दुरूपयोग भएको भनेर समेत आलोचना भइरहेका बेला सचिवालय बैठक पेरिस डाँडामा बसेको हो ।
आज बैठक बसेको ठाउँ यसअघि तत्कालीन माओवादी केन्द्रको मुख्यालय थियो । पेरिस डाँडामा अहिले नेकपाका जनवर्गीय सङ्गठनहरूको कार्यालय छ भने नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा छ ।
यसबारे सोध्दा प्रवक्ता श्रेष्ठ भने: "यसको कुनै अर्थ लगाउन पर्दैन। यो पनि हाम्रो कार्यालय नै हो ।" तर कतिपयले प्रचण्डले कार्यकारी अध्यक्षको रूपमा अध्यक्षता गरेको र दुई अध्यक्षबीच सम्बन्ध राम्रो भएको सङ्केत दिन समेत आजको बैठक प्यारिस डाँडामा राखिएको बताउने गरेका छन् । बैठक भोलि समेत बस्दैछ ।
प्रतिक्रिया दिनुहोस