aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी विवादको चुरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी  विवादको चुरो

सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ। सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्।सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले भूगोलका ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन्।ओली र दाहालले बिहीबार बिहान पनि नेपालसँग सहमतिको प्रयास गरेका थिए।छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोत बताउँछ।‘कतिपय साथीहरूले दोहोरो जिम्मेवारी पाइसके।त्यसलाई मान्ने, अहिले हुँदैन भनेर हुन्छ ? ’, ओलीले नेपालसँग आक्रोश पोखेको समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

नेपालले राज्यसत्ता र पार्टीको स्रोतसाधन प्रयोग गरी गुट चलाउन आफ्ना मान्छेलाई जिम्मेवारी दिन खोजिएको आरोप लगाए।‘कुन मापदण्डअनुसार प्रस्ताव ल्याउनुभयो, के तपाईंको गुटको भए पुग्यो ? गुटलाई बलियो बनाउन राज्य र पार्टी दुवैको स्रोतसाधन प्रयोग गर्ने ? ’, नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एकथरी साथीहरू दोहोरो, तेहरो जिम्मेवारीमा बस्ने, एकथरी साथीहरु खाली हात बस्ने कुरा मिल्दैन ।’

दुवै नेता अडानमा रहेपछि सचिवालय बैठक असार पहिलो सातासम्मका लागि धकेलिएको छ।प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि मात्र बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।‘अध्यक्षद्वयले अझै गृहकार्य नपुगेको र त्यसका लागि समय आवश्यक रहेको बताउनुभएपछि बैठक स्थगन भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अब प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्र सचिवालय बैठक बस्नेछ ।’ प्रधानमन्त्री शनिबार नौदिने भ्रमणका लागि युरोप जाँदै छन्।स्विट्जरल्यान्ड, रूस र फ्रान्स भ्रमण गरी उनी असार १ मा मात्र स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस