
भैरहवा । इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।
बस्नेतलाई बिहीबार पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी सुरेश भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घुससहित नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ परेको ट्याक्टर छाडिदिने भन्दै उनले ट्याक्टर धनीसँग घुस लिँदै गर्दा पक्राउ गरिएको हो । दुईहप्ता अघि शुद्धोधनस्थित तिनाउ नदीमा लगाइएको ठेक्काबाट पैसा तिरेर बालुवा लिएर फर्किदै गरेको ट्याक्टर अवैध तरिकाले खोला उत्खनन् गरेर ल्याएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । स्थानीय सन्तराम लोधले किनेर ल्याएको भन्दै रसिद देखाउँदा देखाउँदै जवरजस्ती प्रहरीले ट्याक्टर पक्राउ गरेको थियो ।
पटक–पटक ट्याक्टर छाड्न आग्रह गर्दा समेत नमानेका प्रहरी निरीक्षक बस्नेतले १५ हजार रुपैयाँ दिएपछि मात्रै छाडिदिने बताएका थिए । १५ हजार दिने सहमति गरेका लोधले अख्तियारलाई खबर गरेर पैसा दिन प्रहरी कार्यालय पुगेका थिए । पैसा दिएर लोध निस्किँदा वित्तिकै अख्तियार टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
अहिले रुपन्देहीका खोला स्थानीय तह र जिल्ला समन्वय समितिले ठेक्का लगाएको छ । ठेक्काको अन्तिम मिति नजिकिँदै जाँदा प्रहरीसँगको सेटिङमा ठेकेदारले अवैध उत्खनन् गर्दै आएका छन् । यही मौकामा प्रहरीले बालुबा खरिद गरेर लैजाने नागरिकलाई दुःख दिँदै आएको छ । बस्नेतले तिनाउ, दानव नदीबाट बालुवा ओसारपसार गर्ने ट्याक्टर, टिपर तथा ठेकेदारसँग अवैध असुली गर्दै आएका थिए । बस्नेत यसअघि पनि विभिन्न विवादमा मुछिएका थिए । उनले ट्याक्टर, टिपर र मालबाहक गाडीबाट समेत असुली गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस