काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा मृत्यु भएका एक व्यक्तिबारे स्पष्ट पारेको छ । असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ६३ वर्षीय रामलखन जैसवालको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आज स्पष्ट पारेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कैदमा रहेका उनको उपचारका क्रममा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको बताएका छन् । मृत्युपछि शवको स्वाब संकलन गर्दा उनमा असोज ५ गते कोभिड १९ पुष्टि भएको थियो। सामाजिक सञ्जालमा फैलिएजस्तो उनको मुटु कलेजो र आँखा निकालिएको घटना नभएको प्रवक्ता गौतमले प्रष्ट पारे।
‘४ दिनदेखि मृतकको शव अस्पतालकै शवगृहमा राखिएकाले शव सड्ने गल्ने प्रकृयाका कारण शरिरमा बिभिन्न प्रकारका फोकाहरू निस्किएको, छालाको रङ निलो कालोमा परिणत भएको, जिउ सुनिएको, नाक र मुखबाट रगत मिश्रित तरल पदार्थ निस्किएको अवस्था हो, उनले भने ‘सड्न गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुन्छन् यो सामान्य प्रकृया हो, साथै सञ्चारमाध्यममा आएजस्तो कुनै अंगहरु निकालिएको छैन र निकाल्ने कुरा पनि आउँदैन।’
यसअघि वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले मृत्युमा शंका गर्नुपर्ने कारण नभएको बताएका थिए। सेञ्चुरीले मृत्युपछि आवश्यक तापक्रम भएको कोठामा नराख्दा शरीर सडेको बताएका थिए ।
यता, केन्द्रीय कारागार र वीर अस्पतालले जैसवालको मृत्युबारे गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै सिसीटिभी फुटेज पनि सार्वजनिक गरिसकेको छ । पत्रकार सम्मेलन गर्दै जैसवालको मृत्यु शंकास्पद नभएको स्पष्ट पारिएको छ । जैसवालको मृत्यु शंकास्पद रूपमा भएको उनको परिवारले दाबी गरेका थिए।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका घर भएका उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा समस्या देखिएपछि जयसवाललाई अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै मृत्युको भएको घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस