काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको मध्य भुभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम उत्तर पश्चिम सर्दैछ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको छ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन चट्याङ हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान निकालेको मौसम बुलेटिनमा आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहितमध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस