काठमाडौं । केन्द्रिय कारागारमा रहेका रुपन्देहीका राजलखन जैसवालको मृत्यु प्रकरण संसदसम्म पुगेको छ । बिहिबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा जैसवाल मृत्यु प्रकरणका विषयमा छलफल गर्न वीर अस्पतालका व्यावस्थापकलाई बोलाईएको थियो ।
छलफलमा समितिले वीर अस्पतालका उपकुलपति डा. देवनारायण शाह, निर्देशक, केदार सेञ्चुरी लगायतलाई जैसवालको मृत्युबारे स्पष्टिकरण सोधिएको थियो ।
छलफलकाक्रममा पुर्व स्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारीले देशकै सबैभन्दा जेठो अस्पतालमा यस्तो विवादस्पद घटना घट्नु लजास्पद रहेको बताए । उनले भने, ‘देशकै सबैभन्दा धेरै बिरामीलाई सेवा दिइएको भनिएको वीर अस्पतालमा शवगृह नहुनु, मृत्युभएका व्यक्तिहरुको लास मुसाले खानु भनेको वीर अस्पताल कति जिर्ण भएको छ यसले देखाउँछ ।’ उनले थपे, ‘अस्पताल आउँदा मृत्यु भइसकेका भनिएका जैसवालको मृत्युबारे सत्यतथ्य के हो ? छानविन समितिले बाहिर ल्याउँला तर वीर अस्पताल यस विषयामा मुछिनु यसका व्यावस्थापकहरुको गल्ति भएको हो ।’
सोहि छलफलमा अर्का सांसद जिवराम श्रेष्ठले यो घटना बाहिरआएपछि केन्द्रिय कारागार पुगेर मृतकको विषयमा थप छलफल गरेको र उक्त स्थानमा मृतक जैसवाललाई कसैलेपनि कुटपिट नगरिएको पाएको बताएका छन् ।
त्यस्तै, सांसद् गजेन्द्रबहादुर महत्तले वीर अस्पतालप्रति ठुलै आक्रोश पोखेका थिए । उनी भन्छन्, ‘वीर अस्पतालको लापरबाहिले धेरैको ज्यान गएको खबर मसँग आएको छ । मेरै जिल्लावासीलाईसमेत वीर अस्पतालले बेवास्ता गरेका कारण केहि महिनाअघि अकालमा ज्यान गुमाउनु पर्यो ।’ उनले थपे, ‘त्यसबखत मैले अस्पतालका निर्देशकलाई बारम्बार फोन गरेको र म सांसद हुँ भनेर धेरैपटक म्यासेज पठाउँदासमेत कुनै प्रतिक्रिया आएन । यसले पनि के देखाउँछ भने वीर अस्पतालको व्यावस्थापन कति लापरवाही छ भन्ने पुष्टि गर्छ ।’ मृतक जैसवाललाई वीर अस्पताल र कारागार प्रशासनको मिलेमतोमा मारेको होइन भन्न सक्ने स्थिती नभएको उनको दाबी छ ।
यता, अस्पतालका उपकुलपति डा. देवनारायण शाहले जैसवालको मृत्युमा वीर अस्पतालको कुनैपनि लापरबाहि नभएको बताए । उनले स्पष्टिकरण दिदै भने, ‘केन्द्रिय कारागारसँग त्यहाँबाट आएका बिरामी वीर अस्पतालमा उच्च प्राथमिकताकास साथ उपचार गर्ने भन्ने सहमति भएको छ । सोहि क्रममा जैसवाललाई पनि कारागार प्रशासनले राती १०ः५५ बजे अस्पतालमा ल्याइपुर्याउने बित्तिकै मेडिकल टिमले जाँच गर्दा क्लिनिकल्लि मृत्यु भएको मलाई जानकारी आएको थियो ।’ बाहिर हल्ला आएजस्तो उनको मृत्यु कुनै कुटपिट वा अन्य कारणले नभइ कोरोना भाइरसको कारण भएको उनको दाबी थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका घर भएका उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा समस्या देखिएपछि जयसवाललाई अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस