काठमाडौं । भारत सरकारले नेपालको आवास तथा विद्यालय पुनर्निर्माणका लागि एक अर्ब २ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर कुमार ढुंगानालाई उक्त चेक हस्तान्तरण गरेकी हुन् ।
भारत सरकारले नेपाललाई आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।
भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस