
काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो । हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ ।
सो अनुमतिसँगै अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ । अब एयरलाइन्सले आफ्नो विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्याउने , विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम आफैंले गर्ने पाउने छ ।
गत साता चार्टरसहित ४२ वटासम्म उडान गरेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स दिइएको हो । हप्तामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने महानिर्देशक राजन पोखरेलले बताए । हिमालय एयरलाइन्सले पाएको यो अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्ने गरी दिइएको हो । सामान्य अवस्थामा हिमालय एयरलाइन्सले सातामा ३५ वटासम्म उडान गर्छ भन्ने निश्चित नभएकाले आइसेन्स नवीकरण गर्नु पर्ने भएको हो ।
यो अनुमतिसँगै आफ्ना विमानको आफैं ह्यान्डलिङ गरेपछि हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ वापत तिर्नुपर्नेे खर्च जोगिने छ भने भने नेपाल एयरलाइन्सको आम्दानी घट्ने छ । गत आर्थिक वर्ष २०७६/७७ मा कोभिड महामारीकै बीच २ अर्ब ७८ करोड आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा ग्राउन्ड ह्यान्डलिङमार्फत निगमले ४ अर्ब ३८ करोड रुपैयाँ कमाएको थियो । गत वर्ष कोभिडको प्रवाहका कारण निगमको आम्दानी घटेको हो ।
हिमालय एयरलाइन्समा तिब्बतीयन कम्पनीसहित नेपालको यति ग्रुपको शेयर छ । कोरोना भाइरसको संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान बन्द गरेको बेला सरकारले नेपाल एयरलाइन्स र हिमालयलाई चार्टर उडान अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस