aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना

काठमाडौं । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

तेजाव आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएका हुन् । कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शपछि कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मार्फत पारित गरेको हो ।

संशोधित संहितामा तेजाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सात देखि दसवर्ष कैद सात लाखदेखि दसलाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस