aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

केरुङमा अझै आठ सय कन्टेनर अलपत्र

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, १२ असोज २०७७
केरुङमा अझै आठ सय कन्टेनर अलपत्र

काठमाडौं । दशैँलाई लक्षित गरेर ल्याइएका आठ सय कन्टेनर रसुवाको केरुङ नाकामा अझै अलपत्र छन् । गत बुधबारदेखि केरुङ नाका खुले पनि चिनियाँ पक्षले दिनमा ५ वटा कन्टेनरमात्र पास गर्न सकिने अनुमति दिएकाले अन्य सामान नाकामै अलपत्र परेका हुन् । दिनमा चार(पाँच कन्टेरनर मात्र भन्सारपास हुँदा दसैंलाई लक्षित गरेर ल्याएका सामान बोकेका आठ सयभन्दा बढी कन्टेनर नाकामै अलपत्र परेको व्यवसायीको भनाइ छ ।

अत्यावश्यक सामान मास्क, स्यानिटाइजर, फलफूलका कन्टेनर भन्सार पास भएर आए पनि अन्य सामान बोकेका सामान भने नेपाल भित्रिन पाएका छैन । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार दिनमा चारदेखि पाँचवटा कन्टेनर भन्सार पास भए पनि अन्य सामान भित्रिन पाएको छैन । “एक हप्ताभित्रमा सामान आउन सकेन भने ती सामानको बिक्री नहुने हुँदा व्यवसायीलाई ठूलो नोक्सान हुन्छ,” उनले भने ।

अध्यक्ष कटुवालका अनुसार, अहिले आठ सय भन्दा बढी सामान बोकेका कन्टेनर नाकामै छन् । लामो समयदेखि केरुङ नाकामा एक हजार दुई सय कन्टेनर सामान रोकिएका थियो । जसमध्ये अहिलेसम्म चार सय कन्टेनर भन्सार पास भएर आइसकेको व्यवसायीले बताएका छन् । लत्ताकपडा, जुत्ता चप्पल, कच्चा पदार्थ लगायतका अन्य सामान बोकेका केन्टेनर नाकामै अलपत्र परेका छन् । गत बुधबारदेखि केरुङ नाका खुले पनि चिनियाँ पक्षले ५ वटा कन्टेनरमात्र पास गर्न सकिने अनुमति दिएको छ ।

अहिले चीनबाट सामान बोकेर आएको कन्टेनरबाट नेपाल र चीनको मितेरी पुलमा नेपालबाट गएको कन्टेनरबाट सामान लोड गर्ने गरिन्छ । यसभन्दा अगाडि चिनियाँ कन्टेनरले गोदाममा हुने कन्टेनरबाट सामान लोड हुने थियो । पुलको भार र मितेरी पुलबाट दिनमा ५ वटाभन्दा बढी कन्टेनरबाट सामान ल्याउन सकिँदैन । दैनिक ५ वटा कन्टेनर आयात गर्ने हो भने दसैैंसम्म पनि चीनमा भएका कन्टेनर ल्याउन सकिँदैन । रसुवागढी भन्सार कार्यालयले ५ वटाभन्दा बढी कन्टेनर आयात गर्नको लागि पहल भइरहेको जानकारी दिएको छ । चिनियाँ पक्षले कोभिडको कारण स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य मापदण्डलाई सहज बनाएर आयात खुलाउने प्रयास भइरहेको कार्यलयले जानकारी दिएको छ । चीनले नेपालमा कोरोना भाइरस बढेको भन्दै आफ्नो देशबाट आउने सामानको निर्यातमा कडाई गरेको हो ।

चीनबाट सामान नेपाल भित्र्याउन सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो सातादेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको थियो । चीनको शर्तले गर्दा नेपाली आयातकर्ताले ल्याएको सामान नेपालमा भित्रन सकेको छैन । बीचमा फाट्टफुट्ट सामान आएपछि सवै सामान भित्रन नपाएको व्यवसायीको भनाई छ । व्यवसायीले जतिसक्दो धेरै सामानको भन्सार पास गराइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस