aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अर्बौका मालिक ट्रम्पमाथि कर नतिरेको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
अर्बौका मालिक ट्रम्पमाथि कर नतिरेको आरोप

एजेन्सी अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । द न्यू योर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा सातसय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेका रहेछन्। उनी त्यसबेला राष्ट्रपतीय उम्मेदवार बनेका थिए र विजयी भएर ह्वाइट हाउसमा पहिलो वर्ष बिताएका थिए।

डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ। उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले "निरन्तरको घाटा र वर्षौँको कर छली" लाई उजागर गर्दछन्। डोनल्ड ट्रम्पले उक्त समाचारलाई "फेक न्यूज" अर्थात मिथ्या समाचार भनेका छन्।

"वास्तवमा मैले कर तिरेको छु। मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्।" आइतवार न्यू योर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो स्पष्टिकरण दिएका हुन्।

"आइआरएस (आन्तरिक राजस्व सेवा) ले मलाई राम्रो व्यवहार गर्दैन….. तिनीहरूले मसँग नराम्रो व्यवहार गर्छन्। आइआरएसमा त्यस्ता मान्छेहरू छन् जसले मलाई एकदमै नराम्रो व्यवहार गर्छन्," डोनल्ड ट्रम्पले भने।

डोनल्ड ट्रम्पले उनको सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्ने विषयमा विभिन्न कानुनी चुनौतीहरूको सामना गरेका छन्। न्यू योर्क टाइम्सले उसको समाचारमा भएका सूचना तथा जानकारीहरू कानुनी रूपमा नै त्यस्ता जानकारीमा पहुँच भएका स्रोतहरूबाटू प्राप्त भएको जनाएको छ।

न्यू योर्क टाइम्सले भनेको छ उसले राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीहरूको सन् १९९० को दशक देखिका कर भुक्तानी विवरण र सन् २०१६ र २०१७ को राष्ट्रपतिका निजी कर विवरणहरूको अनुसन्धान गरेको हो।

प्रतिक्रिया दिनुहोस