aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

काठमाडौंमा डर, संक्रमितमध्ये ६० प्रतिशत उपत्यकामा मात्रै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १३ असोज २०७७
काठमाडौंमा डर,  संक्रमितमध्ये ६० प्रतिशत उपत्यकामा मात्रै

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०।४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।

थप एक हजार ३५१ सङ्क्रमित
नेपालमा सोमबार थप एक हजार ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो । आइतबार एक हजार ५७३ जनामा कोरोना पुष्टि भएको थियो ।

योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।

थप चार जनाको मृत्यु
गत २४ घण्टामा देशभर थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जिल्लाका दुई महिला र दुई पुरुष छन् । जसमा भक्तपुरकी ५१ वर्षीया, सुनसरीकी ३८ वर्षीया महिला, बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस