aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चिनियाँसँग बिहे गर्ने नेपाली युवतीको विजोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
चिनियाँसँग बिहे गर्ने नेपाली युवतीको विजोग

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ नेपाल फर्कन सफल भएकी छिन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् ।

नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँगको सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए ।

बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेको परिवारलाई भरथेग हुन्छ भनेर चिनियाँसँग बिहे गर्न राजी भइन् ।

दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग बिहे गरेर पठाउन खोजेका थिए। तर नाबालक भएकाले उनी दलालको चंगुलमा पर्नबाट बचिन्।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विवाह गरी चीन आएकी थिइन्। राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए।

उनले अमानवीय व्यवहार भोग्नुपर्‍यो। ‘मलाई सासूससुरा र लोग्नेले बारम्बार पिट्थे,’ उनले भनिन्, ‘तँलाई ल्याउन एक लाख चिनियाँ युआन खर्च भएको छ, त्यसको पुरताल गर्नुपर्छ भन्दै उनीहरूले मलाई बारम्बार यातना दिन्थे।’ सुनितालाई नेपालमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि दिइएन। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस