aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मलेसियामा बन्धक बनाई १६ लाख असुल गर्ने श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
मलेसियामा बन्धक बनाई १६ लाख असुल गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रमुख सहकुल थापाले श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको  जानकारी दिए । 

ब्युरोको अनुसन्धानमा  श्रेष्ठ,  भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा  श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत  रैदासलाई अपहरण गरी ७  दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको पन्ध्र लाख बयानब्बे हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।

उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिई बन्धक बनाइराखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको थापाले बताए । ब्युरोले श्रेष्ठ नेपाल आएको मौकामा उनलाई पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई पीडित बनाएको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस