aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

८० प्रतिशतसम्म विद्यालयले शुल्क लिन पाउने निर्णयपछि सिद्धार्थनगर नगरपालिकामा तालाबन्दी

  • अस्मिता अधिकारी
    अस्मिता अधिकारी
  • बुधबार, १४ असोज २०७७
८० प्रतिशतसम्म विद्यालयले  शुल्क लिन पाउने निर्णयपछि सिद्धार्थनगर नगरपालिकामा तालाबन्दी

भैरहवा । सिद्धार्थनगर नगरपालिका रुपन्देहीको शिक्षा शाखामा तालाबन्दी भएको छ । सत्तारुढ नेकपानिकट अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी सिद्धार्थनगरले सिद्धार्थनगर शिक्षा शाखाले गरेको निर्णय भन्दै उक्त शाखामा तालाबन्दी गरेको हो ।

संगठनले विद्यार्थी र अभिभावकको मर्म हित विपरित नगरपालिकाले काम गरेको  भन्दै सो निर्णय २४ घण्टा भित्र फिर्ता गर्नुपर्ने माग राखेपनि सुनुवाई नभएको कारण देखाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले ताला लगाएका छ ।

‘नगरपालिकाले स्कुल भर्ना खोल्ने र विद्यार्थीहरुको असार, साउन, भदौको ७० प्रतिशत, असोज महिनादेखि ८० प्रतिशत शुल्क लिने निर्णय गरेको छ, यसमा अनेरास्ववियूले घोर आपत्ति छ, निर्णय सच्याउनु पर्ने सिद्धार्थनगर कमिटी अध्यक्ष मनिष ढकालले बताए ।

संगठनले निजी शैक्षिक सस्थाहरुलाई पनि तत्काल भर्ना कार्यक्रम स्थगित गरी सहयोग गर्न अनुरोध गर्दै भर्ना कार्यक्रम सञ्चालन गरेको पाइएमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । निर्णयमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ मा भएको व्यवस्था बमोजिम संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा २०७६ को शुल्कलाई आधार मानेको छ । 

उक्त निर्णय अनुसार असार, साउन भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत शुल्क लिने, असोजको दोस्रो हप्ता सम्ममा विद्यालय भर्ना हुन बाँकी र स्थान्तरित विद्यार्थीहरुको भर्ना गर्ने, निर्र्देशिका बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठनको व्यवस्था मिलाई कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई साताको २ दिन र कक्षा ८, ९ र १० लाई नियमित पठनपाठन सञ्चालन गर्ने उल्लेख थियो ।

उता सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले भने विद्यार्थीको लागि पठनपाठनलाई निरन्तरता दिन र शैक्षिक सत्र खेर जान नदिनका लागि सिकाई सहजीकरण निर्देशिका २०७७ ले विद्यार्थीलाइ वैकल्पिक विधिबाट पढाउन अनुमति दिएको बताए । 

प्रतिक्रिया दिनुहोस