
काठमाडौं । कोरोनाका कारण चलचित्र उद्योग ठप्प भएको ७ महिना बितेको छ । कोभिडका कारण चैत ११ गतेभन्दा अगाबै बन्दै भएको चलचित्र उद्योग अहिलेसम्म खुल्न नसक्दा छायांकन सकिएर रिलिज हुन ठिक्क परेका २२ वटा चलचित्रमा भएको करिब १ अर्ब लगानी होल्ड भएको हो । चलचित्र उद्योगमा लगानी भएको एक अर्ब रुपैयाँ होल्ड भएको छ भने नयाँ लगानीका लागि तयार भएका चलचित्र निर्माण कार्य अघि बढ्न नसकेको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।
‘कोभिड अगाडि नै छायांकन सकिएर रिलिजका लागि तयार भएका करिब २०/२२ वटा चलचित्र थन्किएका छन्,’ उनले भने ‘यसको लगानी त होल्ड भयो नै यसका साथै छायांकन कै क्रममा रहेका १५ वटा चलचित्र पनि पुरा हुन सकेका छैन । यसका साथै छायांकनमा जान तयारी भएर बसेका २० वटा चलचित्र पनि त्यतिकै थन्किएको उनले बताए । समग्रमा करिब ६० वटा चलचित्रमा कोभिडको प्रत्यक्ष असर परेको छ ।
चलचित्र प्रोजेक्टको बीमा बोर्डले गरिदिने
नेपाल चलचित्र विकास बोर्डले अबदेखि नयाँ निर्माण हुने चलचित्रहरूको बीमा गरिदिने भएको छ । बोर्डले चलचित्रको निर्माण अवधि ६ महिना राखेर सो अवधिको बीमा गरिदिने भएको हो । चलचित्र निर्माण अवधिको बीमा गर्दा कुल लागतको एक प्रतिशत बीमाको प्रिमियम तिरे पुग्ने भएकोले प्रोजेक्ट रिक्सको व्यवस्थापन मिलाउन बोर्डले चलचित्र निर्माण अवधिको प्रोजेक्ट बीमा गरिदिन लागेको अध्यक्ष दाहालले बताए । ‘एउटा चलचित्रको बीमा गर्न करिब ३ लाखजति बीमा शुल्क तिनुपर्छ,’ उनले भने ‘बोर्डले निर्मातालाई राहत दिन बीमाको प्रिमियर तिरिदिने व्यवस्था मिलाएको हो ।
चलचित्र उद्योगमा ३ लाख बेरोजगार
विगत ७ महिनादेखि चलचित्र उद्योग बन्द हुँदा साढे दुईदेखि ३ लाखलाई असर परेको छ । चलचित्र निर्माण क्षेत्रमा मात्रै करिब ४० हजारले प्रत्यक्ष रोजगारी पाएका थिए । यसका साथै चलचित्र हलमा काम गर्ने रोजगारको पनि रोजगारी गुमेको अवस्था छ । नेपालभर २१९ वटा हल छन् । यसमा काम गर्ने कर्मचारी पनि सबै बेरोजगार छन् ।
‘चलचित्र निर्माणमा लागेका कलाकार तथा प्राविधिकहरूको हालत अझ खराब छ,’ उनले भने ‘उनीहरूलाई जीवन निर्वाहको लागि केही सहयोग बोर्डले गरेपनि यो प्रर्याप्त होइन । समग्रतामा हेर्दा कोभिडका कारण चलचित्र उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ लाखलाई असर परेको छ ।
कति हुन्छ खर्च चलचित्र बनाउँदा ?
नेपालमा चलचित्र बनाउन औषतमा करिब ३ करोड खर्च लाग्छ । ‘प्रेम गित’ भन्ने चलचित्र ५ करोडमा निर्माण भएको हो । अहिले करिब ६० वटा चलचित्रमध्ये कुनै रिलिजका क्रममा रहेका छन् त कुनै छायांकनका क्रममा रोखिएका त कुनै छायांकन हुने तयारीमा छन् । यी सबै चलचित्रमा करिब साढे दुईदेखि ५ करोडसम्म लगानी भएको छ । सो लगानी पनि डुबेको अवस्थामा छ ।
अहिले २२ वटा चलचित्र रिलिज हुनका लागि ठिक्क परेका छन् । यसमा करिब एक अर्ब लगानी भएको छ । चलचित्र रिलिज हुन नसक्दा एकतिर लगानी होल्ड भएर बसेको छ भने अर्कोतिर बन्दै गरेका १५ वटा चलचित्रमा पनि आधाभन्दा बढी लगानी भइसकेको छ ।
सिनेमा हलले ७ महिनामा साढे चार अर्ब गुमाए
कोभिडको प्रभाव अझ बढी सिनेमा हल सञ्चालकमा परेको छ । सरकारले लकडाउन गर्नु अघि नै बन्द गरेका यी हलहरू अहिलसम्म खुल्न सकेका छैनन् । अब ती हलहरू कहिले खुल्ने त्यो पनि थाहा छैन । सिनेमा हल बन्द भएपछि मासिक रुपमा हुँदै आएको करिब ६० करोड आम्दानी पनि डुबेको छ । कोभिडका कारण नेपालभर रहेका २१९ वटा सिनेमा हल बन्द भएका छन् ।
यी हलहरूमा ७२ हजार सिट छन् । यी हलहरू दैनिक तीन सिफ्ट सञ्चालन हुने गरेको थियो । सिनेमा हलहरूले सिनेमा चलाउन नपाउँदा मासिक ६० करोड गुमाएका छन् । छिमेकी मुलुक भारतले चलचित्र हल खोल्ने तयारी गरेपनि नेपालमा भने त्यस्तो केही संकेत नआएको अध्यक्ष दाहालले बताए ।
यस्तो छ बोर्डको राहत प्याकेज
नेपाल चलचित्र विकास बोेर्डले अब सिनेमा हल खुलेका मितिले ६ महिनासम्म रिलिज हुने चलचित्रलाई राहत प्याकेज दिने भएको छ । फिल्म रिलिज हुँदा ब्यानर, पोष्टर, भीपीसी चार्ज निकोडिङमा हुने खर्च बोर्डले गरिदिने तयारी गरेको हो । एउटा चलचित्र रिलिज गर्दा करिब ७ देखि ८ लाखसम्म खर्च लाग्ने अध्यक्ष दाहालले बताए । ‘सिनेमा हल खुलेपछि ६ महिनाको अवधिसम्म बोर्डले यी अन्तर्गत हुने सबै खर्च गरिदिने निर्णय गरेको छ,’ उनले भने ‘यसले चलचित्र निर्माताहरूलाई केही राहत मिल्छ ।’
प्रतिक्रिया दिनुहोस