aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रदेश ५ सरकारको जनतालाई सेवा घुमफिर सेवा प्रणाली लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
प्रदेश ५ सरकारको जनतालाई सेवा घुमफिर सेवा प्रणाली लागू

कपिलवस्तु, । जिल्ला प्रशासन कार्यालय तौलिहवाले यहाँ रोमिङ अर्थात् घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो । 

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो ।

प्रशासनका अनुसार आइतबार र बुधबार बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन् । सोमबार र बिहीबार महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकाका सेवाग्राहीलाई समय तोकिएको छ भने शुद्धोधन र यशोधरा गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार र शुक्रबार समय तोकिएको छ । जिल्लामा इलाका प्रशासन कार्यालय चन्द्रौटा र इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट पनि सेवा प्रवाह भइरहेको छ ।

तरकारीको बीउ वितरण

अर्घाखाँची– सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण शुरु गरेको छ । कृषकको मागका आधारमा  ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको  बीउ वितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए । उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्र्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस