नेपालगञ्ज । भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गर्ने गिरोहलाई कारवाही गर्न नेपाल भूपू सैनिक विकास समिति बाँकेले माग गरेको छ । जेठ २० गते राति समितिले नेपाल भूपू सैनिक सर्च अभियान नाम दिएर सात जनालाई ३८ लाख रकमसहित पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।
प्रमाणसहित पक्राउ परेको ९६ घण्टा बितिसक्दा समेत प्रहरीले मुद्दा नचलाई उन्मुक्ति दिन चलखेल गरेको भन्दै समितिले पक्राउ परेकाहरुलाई तुरुन्त कारवाही गर्न माग गरेको हो ।
जेठ २० गते १२ बजे राति गिरोहले होटल बाटिकामा रकम असुल गरिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो । भूपू सैनिक सर्च अभियान टोलीले एउटा हुन्डाई कार, ८४ थान मोबाइलसमेत बरामद गरेर प्रहरीलाई बुझाएको थियो ।
प्रहरीले हिरासतमा रहेका उनीहरु सबैको नाम गोप्य राख्दै घटनालाई थामथुम पार्न खोजेपछि समितिले पक्राउ परेका भूपू सैनिकहरुको नामसमेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीका एकबहादुर गुरुङ, पोखराका सूर्यबहादुर थापा, चितवनका रामकाजी पाण्डे, अर्जुन पाण्डे र नीरबहादुर थापा छन् ।
त्यस्तै पोखराकी सुजता पाठक र सिर्जना अधिकारीलाई पनि पक्राउ परिएको छ । पक्राउ परेका सबैले भर्ति सेन्टर केन्द्र खोलेका छन् भर्ना छनोटमा खटिने ब्रिगेड कमाण्डकै संलग्नतामा रकम असुली भइरहेको गम्भीर आरोप समितिले लगाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस