aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्रदेश राजधानी र नामको विरोध गर्दै बुटवलको निषेधित क्षेत्रमा प्रर्दशन

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • आइतबार, १८ असोज २०७७
प्रदेश राजधानी र नामको विरोध गर्दै बुटवलको निषेधित क्षेत्रमा प्रर्दशन

भैरहवा । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ  सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन भइरहेको छ । बुटवलका विभिन्न संघसंस्थाले प्रदेश कार्यालयलाई भेरी संस्थाका आफ्ना भवनहरु प्रदेश सरकारलाई दिएको भन्दै दुई दर्जन बढी व्यवसायिक संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन भएको हो । रुपन्देहीको बुटवललाई राजधानी कायम गर्न माग गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध ¥याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले रुपन्देहीमा प्रदेश सरकारका पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जानेगरी कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको भन्दै आन्दोलन चर्कोउने चेतावनी दिएका छन् ।

प्रदेश सरकारलाई आवश्यक पर्ने पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका छन् । कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले प्रदेश सभा र प्रदेश सरकारलाई रुपन्देहीका व्यवसायिक संस्थाहरुले आफ्ना कार्यालय भवन दिएर सहयोग गरेको तर सरकारले जनभावना कुल्चेर अघि बढेको आरोप लगाएका छन् ।

व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा सोमबार प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आहृवान गरेको छ । नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देही बन्दको आह्वान गरेको थियो । बुटवल, सैनामैना, देवदह र तिलोत्तमा बन्द रहेको छ भने अन्य क्षेत्र खुला छ ।

प्रतिक्रिया दिनुहोस